कतारमा रामेछाप सेवा समाजको आयोजनामा नोभेम्बर ६ मा दशैँ, तिहार तथा छठ विशेष सांस्कृतिक कार्यक्रम हुने

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा, कतार। कतारमा स्थापित रामेछाप सेवा समाज कतारले नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान तथा देउसी–भैलो विशेष सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ।

 

“प्रवासी रामेछापको आवाज, सभ्य समाज निर्माणको प्रयास” भन्ने मूल नाराका साथ सन् २००४ मा स्थापित समाजले नेपाली कला, संस्कृति, परम्परा तथा आपसी सद्भावलाई प्रवासमा पनि निरन्तरता दिने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।

 

आयोजकका अनुसार कार्यक्रम आगामी नोभेम्बर ६, २०२६ शुक्रबार बिहान ११ बजेदेखि वेलफेयर रेस्टुरेन्ट, प्लाजा मलमा सञ्चालन हुनेछ।

 

कार्यक्रममा विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदानसँगै परम्परागत देउसी–भैलो तथा विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने जनाइएको छ। प्रवासमा रहेका नेपालीहरूबीच आपसी भेटघाट, भाइचारा, एकता र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा कार्यक्रमलाई लिइएको छ।

 

रामेछाप सेवा समाज कतारले कतारमा स्थापित सम्पूर्ण नेपाली संघ–संस्थाका प्रमुख तथा पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।

 

नेपाली चाडपर्वको मौलिकता, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले कतारमा रहेका नेपाली समुदायबीच आत्मीयता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

 

कार्यक्रम विवरण

मिति: ६ नोभेम्बर २०२६, शुक्रबार

समय: बिहान ११ बजेदेखि

स्थान: वेलफेयर रेस्टुरेन्ट, प्लाजा मल

आयोजक: रामेछाप सेवा समाज कतार