कतारमा महोत्तरी समाज सेवा कतारको पाँचौँ स्थापना दिवस समारोह सम्पन्न

आशिक हुसैन शेख     

दोहा, कतार। महोत्तरी समाज सेवा कतारको पाँचौँ स्थापना दिवस समारोह शुक्रबार (२३ अक्टोबर २०२६) का दिन कतारको ग्राण्ड मल नजिकै रहेको पार्कमा सम्पन्न भएको छ।

 

‘सेवा, सहयोग, एकता र मानवता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा केक काटेर संस्थाको पाँचौँ स्थापना दिवस मनाइएको थियो।

 

कार्यक्रममा संस्थाका अध्यक्ष राम हृदय साह, महासचिव बिरेन्द्र कुमार पासमानलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, बुद्धिजीवी र युवाहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा सहभागीहरूले संस्थाले कतारमा नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्दै सामाजिक सेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गरेका थिए। साथै, आगामी दिनमा पनि मानवीय सेवा र सामाजिक सहयोगका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

 

यसैबीच, महोत्तरी समाज सेवा कतारले आगामी २९ अक्टोबर २०२६ मा जनकपुरस्थित वृद्ध सेवा आश्रममा विशेष सामाजिक सेवा कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा वृद्धवृद्धाहरूलाई भोजन तथा आवश्यक सहयोग वितरण गर्ने कार्यक्रम रहेको छ।

 

संस्थाले कतारमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने लक्ष्य लिएको छ। पाँचौँ स्थापना दिवसले संस्थालाई आगामी दिनमा अझ सक्रिय र सेवामुखी बनाउन प्रेरणा दिने विश्वास गरिएको छ।