साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा १ नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु
रियाद, साउदी अरब।
साउदी अरबको पूर्वी प्रान्तस्थित शै,बाह तेल क्षेत्रमा ड्रोन आक्रमणको प्रयासका क्रममा नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार, अक्टोबर २१, २०२६ को बिहान साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो। त्यस क्रममा खसेको भग्नावशेषका कारण एक ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी भएको थियो।
घटनामा नेपाली र फिलिपिन्सका एक–एक जना नागरिकको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।
मन्त्रालयका अनुसार घटनाका बाबजुद तेल क्षेत्रको सञ्चालनमा कुनै असर परेको छैन। घटनास्थलमा सम्बन्धित निकायले आवश्यक कदम चालेका छन्।
मृत्यु भएका नेपाली नागरिकको नाम, ठेगाना तथा अन्य व्यक्तिगत विवरण भने सार्वजनिक गरिएको छैन।
