सोनमा गाउँपालिकाद्वारा शिक्षकहरूलाई झोला, रेनकोट, छाता र इलेक्ट्रोनिक घण्टी वितरण
महोत्तरी टुडे
कार्तिक ६ २०८३
DK यादव,-महोत्तरी टुडे समाचारदाता, सोनमा। महोत्तरीको सोनमा गाउँपालिका शिक्षा शाखाले दशैँ, दीपावली, छठ तथा सामाचकेवा पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै गाउँपालिकाअन्तर्गतका शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई झोला, रेनकोट, छाता र इलेक्ट्रोनिक घण्टी वितरण गरेको छ।

२०८३ साल कार्तिक ५ गते सोनमा गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता शिक्षा शाखा प्रमुख राजकुमार साहले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख राजकुमार साहले राख्नुभएको थियो भने कार्यक्रमको उद्घोषण शिक्षा सहसंयोजक धर्मेन्द्र कुमार यादवले गर्नुभएको थियो।
कार्यक्रममा गाउँपालिकाअन्तर्गतका १८ वटै विद्यालयका प्रधानाध्यापकसहित शिक्षक तथा विद्यालय कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। शिक्षा शाखाले उपलब्ध गराएको विवरण अनुसार कार्यक्रममा ९१ जना स्थायी शिक्षक, ३४ जना गाउँ शिक्षक, ४५ जना बालविकास सहजकर्ता, ६ जना विद्यालय कर्मचारी, १७ जना विद्यालय सहयोगी तथा ९ जना संघीय शिक्षण अनुदान शिक्षक गरी कुल २०० भन्दा बढीलाइ उक्त सामाग्रीहरु वितरन गरिएको थियो।

कार्यक्रममा श्री राष्ट्रिय आधारभूत विद्यालय, सोनमाका विद्यार्थीहरूले झिझिया गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेका विभिन्न विकास निर्माण तथा सुधारका प्रयासहरूबारे जानकारी गराउनुभयो। उहाँले विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर सुधार तथा शिक्षक र विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण निर्माण गर्न गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो।

शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आवश्यक सामग्री वितरण गर्नुका साथै चाडपर्वको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले गाउँपालिका र विद्यालयबीचको समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी शिक्षक तथा कर्मचारीहरूले एकआपसमा विजया दशमी, दीपावली, छठ तथा सामाचकेवा पर्वको शुभकामना आदानप्रदान गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया
