खैरबनी प्रिमियर लिगको उपाधि माथी सोनमा टिमको कब्जामा

महोत्तरी टुडे     

DK यादव-सोनमा,
खैरबनी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि सोनमा टिमले जितेको छ। रोमाञ्चक फाइनल खेलमा खैरबनी टिमलाई पराजित गर्दै सोनमा टिमले प्रथम कप आफ्नो नाममा गरेको हो।

WhatsApp Image 2026-10-23 at 7.31.49 PM.jpeg

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको खैरबनी टिमले सबै विकेट गुमाउँदै ८६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सोनमा टिमले ८ विकेटको क्षतिमा ८७ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो र प्रतियोगिताको उपाधि जित्न सफल भयो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। खेलको म्यान अफ द म्याच पोलार्ड घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान अस्फाक आलम, उत्कृष्ट बलर रितेश यादव र उत्कृष्ट फिल्डर दीपक यादव घोषित भए।

विजेतालाई कप तथा नगद पुरस्कार वितरण
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। अध्यक्ष यादवले विजेता सोनमा टिमलाई प्रथम कपसहित नगद ४१ हजार रुपैयाँ प्रदान गरे। त्यसैगरी, उपविजेता खैरबनी टिमलाई राम दुलार यादवले दोस्रो कपसहित नगद २५ हजार रुपैयाँ प्रदान गरे।

कार्यक्रममा सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादव, राम दुलार यादव, शिक्षा सहसंयोजक धर्मेन्द्र कुमार यादव तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कौशल कुमार यादवसहित अन्य अतिथि तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

WhatsApp Image 2026-10-23 at 7.31.51 PM.jpeg

अध्यक्ष यादवको खेलसम्बन्धी धारणा

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले खेलकुदले युवाहरूमा अनुशासन, आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताए। उनले स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले गाउँपालिकाभित्र लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
अध्यक्ष यादवले युवाहरूलाई खेलकुदमा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्दै स्थानीय खेलकुदको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलप्रेमीहरूबीच उत्साह र एकताको वातावरण सिर्जना गरेको छ।


महोत्तरी टुडे समाचार