सोनमाको सुन्दरपुर वर्थिङ सेन्टरमा पहिलो बच्चाको जन्म

महोत्तरी टुडे     

D. K. यादव , सोनमा  साउन ११ गते l 

महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ सुन्दरपुरमा भर्खरै असार ३२ गते (२०८३/०३/३२) उद्घाटन गरिएको नयाँ वर्थिङ सेन्टर (प्रसूति गृह) मा पहिलो पटक सफलतापूर्वक बच्चाको जन्म भएको छ। उक्त नयाँ स्वास्थ्य केन्द्रमा मिति २०८३ साल साउन ११ गते पहिलो शिशु (छोरा) को जन्म भएको हो।

सोनमा गाउँपालिका वडा नं. १ बस्ने जोगिन्द्र यादवकी छोरी इन्द्रा देवी यादवले उक्त केन्द्रमा आफ्नो बच्चालाई जन्म दिनुभएको हो। इन्द्रा देवीको विवाह सोनमा गाउँपालिका वडा नं. ५ खैरबनीमा भएको हो। हाल नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य र स्वस्थ रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन्।

नयाँ वर्थिङ सेन्टरमा पहिलो बच्चाको जन्म भएपछि खुसी व्यक्त गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादवले  अस्पतालमै पुगेर सुत्केरी आमा र नवजात शिशुलाई भेट्नुभएको छ। भेटका क्रममा अध्यक्ष यादवले आमा तथा बच्चाका लागि आवश्यक कपडा, होरलिक्स र नगद यातायात खर्च समेत प्रदान गर्नुभयो।

WhatsApp Image 2026-07-28 at 10.19.27 PM.jpeg

अस्पतालमा पत्रकारहरूसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले भन्नुभयो, "ग्रामीण क्षेत्रका दिदीबहिनीहरूले सामान्य प्रसूति सेवाका लागि पनि टाढा जानुपर्ने र बाटोमै ज्यान जोखिममा पार्नुपर्ने बाध्यता अन्त्य गर्न हामीले यो वर्थिङ सेन्टर सञ्चालनमा ल्याएका हौं। उद्घाटन भएको छोटो समयमै यहाँ पहिलो बच्चाको सुरक्षित जन्म हुनु हाम्रो अभियानको ठूलो सफलता हो। सोनमाका कुनै पनि गर्भवती महिलाले अब गुणस्तरीय स्वास्थ्य सेवाको अभाव झेल्नु पर्ने छैन। हामी आगामी दिनमा यो केन्द्रलाई अझ साधन-सम्पन्न र डाक्टरहरूको नियमित उपस्थिति सहित थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।

"गर्भवती अवस्थामा रहेकी इन्द्रा देवीलाई गाउँपालिकाकै एम्बुलेन्स सेवामार्फत नि: शुल्क सुरक्षित रूपमा सुन्दरपुर वर्थिङ सेन्टरसम्म ल्याइएको थियो। सुत्केरी भई चिकित्सकको सल्लाह बमोजिम डिस्चार्ज भएपछि उहाँहरूलाई पुनः गाउँपालिकाकै एम्बुलेन्सबाट नि: शुल्क रक्षित साथ सोनमा स्थित घरसम्म पुर्‍याइएको छ।

स्थानीयस्तरमै गुणस्तरीय प्रसूति सेवा सुरु भएपछि अब सामान्य प्रसूतिकै लागि टाढा वा अन्यत्र महँगो खर्च गरेर दगुर्नुपर्ने बाध्यता अन्त्य भएको सोनमा गाउँपालिकाका स्वास्थ्य संयोजक जितेन्द्र कुमार साहले जानकारी दिनुभयो। गत असार मसान्तमा उद्घाटन गरिएको सुन्दरपुर वर्थिङ सेन्टर सञ्चालनसँगै ग्रामीण क्षेत्रका महिलाहरूका लागि सुरक्षित मातृत्व सेवामा ठूलो राहत पुग्ने स्वास्थ्य संयोजक साहको भनाइ छ।