बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते
मुम्बई। बलिउड अभिनेता टाइगर श्रफ सवार बीएमडब्ल्यू गाडीमा गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार साँझ मुम्बईको जुहु क्षेत्रमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले उक्त गाडीलाई लक्षित गरी तीन राउन्ड गोली चलाएका थिए।
‘दि इकोनोमिक टाइम्स’का अनुसार घटनामा अभिनेता श्रफ सकुशल रहेका छन्। तर, उनका गाडी चालक र अर्का एक व्यक्ति घाइते भएका छन्। घाइते चालकलाई उपचारका लागि नानावती अस्पताल लगिएको जनाइएको छ। अर्का घाइते अटोरिक्सा चालक रहेको बताइएको छ।
फुटबल खेलेर घर फर्किने क्रममा पुष्पा पार्कनजिकै श्रफ सवार गाडीमाथि गोली प्रहार भएको थियो। घटनास्थलबाट गोलीका खोका समेत फेला परेका छन्।
घटनाको अनुसन्धानका लागि मुम्बई प्रहरीले १२ वटा टोली परिचालन गरेको छ। प्रहरीले घटनास्थलको फरेन्सिक जाँच गर्नुका साथै सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा आक्रमणकारीको खोजी गरिरहेको छ।
यसैबीच, घटनामा लरेन्स विश्नोई समूहको संलग्नता रहेको दाबी सामाजिक सञ्जालमा गरिए पनि प्रहरीले त्यसको आधिकारिक पुष्टि गरेको छैन। घटनापछि भारतीय कांग्रेसका नेताहरूले महाराष्ट्रको कानुन व्यवस्थामाथि प्रश्न उठाएका छन्।
