विश्वकर्मा समाज कतारद्वारा रमाइलो बनभोज, तथा भेटघाट कार्यक्रम आयोजना हुँदै
आशिक हुसैन शेख दोहा- कतारमा क्रियाशील सामाजिक संस्था विश्वकर्मा समाज, कतार ले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा, सामाजिक एकता तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ “रमाइलो बनभोज तथा भेटघाट कार्यक्रम २०२६” आयोजना गर्दै छ। उक्त कार्यक्रमअन्तर्गत पत्रकार तथा कलाकार सम्मान कार्यक्रम पनि समावेश गरिएको समाजले जनाएको छ।
उक्त कार्यक्रम आउँदो शुक्रबार, १३ फेब्रुअरी २०२६ का दिन स्माल रोड ६६ नं. ब्रिज लेफ्ट मा हुने छ। कार्यक्रममा कतारमा रहेका विश्वकर्मा समुदायका सदस्यहरू, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा बनभोजसँगै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू आयोजना गरिनेछन्। गीत, नृत्य, हास्यव्यङ्ग्य तथा अन्य सांस्कृतिक कार्यक्रममार्फत सहभागीहरूले आफ्नो कला, संस्कृति र परम्परालाई उजागर गर्ने अवसर पाउनेछन्। यसले प्रवासमा रहेर पनि नेपाली संस्कृतिको संरक्षण तथा हस्तान्तरणमा योगदान पुर्याउने आयोजकको विश्वास रहेको छ।
त्यसैगरी कार्यक्रमको विशेष आकर्षणका रूपमा पत्रकार सम्मान कार्यक्रम आयोजना गरिने भएको छ। कतारमा रहेर नेपाली समुदायका आवाज, समस्या र गतिविधिलाई निरन्तर रूपमा सञ्चार माध्यममार्फत उजागर गर्दै आएका नेपाली पत्रकारहरू तथा कलाकारहरूको योगदानको कदर गर्दै सम्मान गरिने समाजले जानकारी दिएको छ। पत्रकार,कलाकार र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले उक्त सम्मान कार्यक्रम राखिएको आयोजक पक्षको भनाइ छ।
विश्वकर्मा समाज कतारका पदाधिकारीहरूका अनुसार यस्ता कार्यक्रमहरूले प्रवासमा रहेर पनि समुदायबीच आपसी चिनजान, सहयोग र सद्भाव बढाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै समाजले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै भविष्यमा पनि यस्ता रचनात्मक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
विश्वकर्मा समाज, कतारले सम्पूर्ण सदस्य, शुभेच्छुक, समाजसेवी तथा सञ्चारकर्मीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह गरेको छ।
