कतारमा मगरहरूको राष्ट्रिय पर्व माघ्या सकरातीको बृहत् सांस्कृतिक कार्यक्रम सुरु
आशिक हुसैन शेख दोहा कतार । मगर समुदायको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व माघ्या सकराती (मगर माघे संक्रान्ति) माघ्य सकराटी मगर मिनाम ल्हेस ५०१९ तथा २०२६ को अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम कतारमा औपचारिक रूपमा सुरु भएको छ।
नेपाल मगर संघ, शाखा कतारको आयोजनामा Al Wukair स्थित DPS Monarch International School मा कार्यक्रम भव्य रूपमा सुरु गरिएको हो। कार्यक्रममा कतारमा कार्यरत मगर समुदायका सदस्यहरू, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ।
कार्यक्रमको उद्घाटन सत्रमा आयोजक संस्थाका पदाधिकारीहरूले माघ्या सकराती पर्व मगर समुदायको पहिचान, इतिहास र संस्कृतिसँग गहिरो रूपमा जोडिएको पर्व भएको उल्लेख गरे। उनीहरूले परदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, भाषा, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताए।
कार्यक्रम सुरु भएसँगै मगर समुदायका मौलिक नृत्य, परम्परागत भेषभूषासहितका सांस्कृतिक झाँकी तथा लोकसंस्कृतिमा आधारित प्रस्तुतिहरू क्रमशः प्रस्तुत हुन थालेका छन्। साथै, शुभकामना आदान–प्रदान कार्यक्रममार्फत सहभागीहरूबीच आपसी सद्भाव, भाइचारा र एकताको सन्देश आदान–प्रदान भइरहेको छ।
कार्यक्रममा नेपालबाट आमन्त्रण गरिएका तथा कतारमा रहेका कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि सुरु भइसकेको छ। लोकगीत, लोकनृत्य र सांस्कृतिक प्रस्तुतीकरणले कार्यक्रम स्थलमा उत्साहपूर्ण वातावरण सिर्जना गरेको छ।
आयोजक नेपाल मगर संघ, शाखा कतारका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य कतारमा रहेका मगर समुदायलाई एउटै मञ्चमा एकत्रित गर्दै सामाजिक एकता मजबुत बनाउनु, नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति सचेत गराउनु तथा नेपाली सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ।
कार्यक्रम दिनभर विविध सांस्कृतिक गतिविधि, शुभकामना आदान–प्रदान तथा मनोरञ्जनात्मक प्रस्तुतिसहित निरन्तर रूपमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
