मधेशी एकता समाज कतारको स्वागत–सम्मान कार्यक्रम सम्पन्न

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा (कतार) — मधेशी एकता समाज कतारको आयोजनामा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आज मिति १५ जनवरी २०२६, बिहिबारका दिन मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम उद्घोषक तथा महासचिव चनरबिरको सञ्चालनमा सम्पन्न भएको थियो भने मधेशी एकता समाज कतारका कार्यवाहक अध्यक्ष अलि हुसेन राइनको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रमको औपचारिक सुरुआत ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रगान तथा दिवंगत आत्माप्रति एक मिनेट मौनधारण गर्दै गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मुक्ति नेपालका उपाध्यक्ष, क्लोथ बैंक नेपालका अध्यक्ष तथा खुला सीमा संवादका अध्यक्ष डा. राजिव झा रहनुभएको थियो। उहाँले आगामी निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३बाट चुनाव लड्ने निर्णय पक्का भइसकेको जानकारी गराउँदै मधेशी समुदायका हक–अधिकार, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका विषयलाई संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

डा. झाले आफ्नो संस्थामार्फत सञ्चालन हुँदै आएको क्लोथ बैंक नेपालको उद्देश्यबारे स्पष्ट पार्दै भन्नुभयो— “जसलाई बढी कपडा छ, उसले दिएर जानु र जसलाई कपडा छैन, उसले निःशुल्क लिएर जानु नै क्लोथ बैंकको मूल भावना हो।” उहाँका अनुसार क्लोथ बैंक नेपालले देशभर गरिब, असहाय, अनाथ आश्रम, विद्यालयहरूमा कपडा तथा ब्ल्याङ्केट वितरण गर्दै आएको छ। कोरोना (कोभिड–१९) महामारीको कठिन समयमा पनि आफूले निरन्तर सामाजिक सेवामा सक्रिय भूमिका खेलेको उहाँले स्मरण गराउनुभयो।

डा. झाले मिटरब्याज पीडितहरूको समस्याबारे पनि धारणा राख्दै, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निजी साहुकारको चपेटामा पर्न नदिन नगरपालिकामार्फत नै सहुलियत ऋण उपलब्ध गराउनुपर्ने प्रस्ताव अघि सारेको जानकारी दिनुभयो। यद्यपि, राजनीतिक इच्छाशक्ति अभावका कारण उक्त प्रस्ताव कार्यान्वयन हुन नसकेकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो।

त्यसैगरी उहाँले सडक, पुल तथा पर्यटकीय स्थलहरूको विकास, गरिब, अपाङ्ग तथा अति विपन्न परिवारलाई आर्थिक सहयोग, साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको गम्भीर समस्याबारे पनि चर्चा गर्नुभयो। उहाँका अनुसार मधेशका केही गाउँमा विद्यालयमा शिक्षक भए पनि विद्यार्थी छैनन् भने कतिपय ठाउँमा विद्यार्थी भए पनि शिक्षकको अभाव छ। “विद्यालय र अस्पताल जस्ता संवेदनशील क्षेत्रमा राजनीति हावी हुँदा मधेशमा यस्तो दयनीय अवस्था सिर्जना भएको छ,” उहाँले भन्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा एनआरएन कतारका अध्यक्ष कृष्ण पन्थी, नेपाली समाज कतारका मनिष यादव, मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेख, धनुषा सेवा समाज कतारका अध्यक्ष जमिर नदाफ, मधेश प्रदेशका संयोजक साकिर अलि र कमलेश महतोलगायत रहनुभएको थियो।

कार्यक्रममा बोल्दै एनआरएन कतारका अध्यक्ष कृष्ण पन्थीले मधेशसहित देशका जुनसुकै क्षेत्रका समस्या समाधानमा आफू सधैं सहयोग गर्न तयार रहेको बताए। उहाँले विशेषगरी महोत्तरी जिल्लाका विद्यालयहरूको शिक्षा सम्बन्धी समस्याबारे जानकारी दिन आग्रह गर्दै सहयोगको प्रतिबद्धता जनाउनुभयो। “पार्टी आ–आफ्नो ठाउँमा भए पनि मधेशका समस्यामा सबै नेपालीले हातेमालो गर्नुपर्छ,” उहाँले जोड दिनुभयो।

कार्यक्रमको अवसरमा मधेशी एकता समाज कतार, मधेश प्रदेश समन्वय परिषद कतार, मंसुरी एकता समाज नेपाल, राष्ट्रिय मुस्लिम परिषद नेपाल तथा धनुषा सेवा समाज कतारको तर्फबाट प्रमुख अतिथि डा. राजिव झालाई दोसल्ला, खादा तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा समाजका पदाधिकारीहरू उपाध्यक्ष संजिव नायक, उपाध्यक्ष अजित ठाकुर, सचिव श्रीलाल यादव, कोषाध्यक्ष गौतम शर्मा, अन्तर्राष्ट्रिय उपाध्यक्ष राजिब झा, मधेश प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष दुर्गानन्द पासवानसहित दिनेश अररिया, नौशाद अहमद, सोहेल खान, अकबर राइन, बलिराम ठाकुर, अफसर अलि खानलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले कतारमा रहेका मधेशी समुदायबीच एकता, सहकार्य र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिए।

कार्यक्रमको समापन मधेशी एकता समाज कतारका कार्यवाहक अध्यक्ष अलि हुसेन राइनले गर्नुभएको थियो।