कतारमा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व “माघ्या सकराटी–मिनाम ल्हेस् ५०१९” धूमधामका साथ मनाइँदै
आशिक हुसैन शेख,दोहा, कतार ।
मगर समुदायको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व “माघ्या सकराटी” (माघे संक्रान्ति) यस वर्ष पनि कतारमा भव्य र उल्लासपूर्ण वातावरणमा मनाइने भएको छ। नेपाल मगर संघ शाखा कतार को आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि मिनाम ल्हेस् ५०१९–२०२६ को अवसर पारेर वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुन लागेको हो।
आयोजक संस्थाका अनुसार आगामी शुक्रबार दोहास्थित डिपिएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हल मा कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने तयारी तीव्र रूपमा भइरहेको छ। कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले, दोहोरी गायक अमर रोका मगर र अनुभवी उद्घोषक पुरन राजकोटी मगर विशेष आकर्षणका रूपमा सहभागी हुनेछन्। संघका अध्यक्ष समीर थापा मगर ले मगर समुदायको मौलिक पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा नेपाल मगर सांस्कृतिक परिवार कतारमा आबद्ध कलाकारहरूद्वारा मौलिक मगर नृत्यहरू प्रस्तुत गरिनेछ। साथै मगर समुदायको सांस्कृतिक पहिचान झल्काउने सांस्कृतिक झाँकी, सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या लगायतका परम्परागत नृत्य तथा गीतहरूको प्रस्तुति रहनेछ। मगर समुदायको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको परम्परागत भेषभूषा समेत कार्यक्रमको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।
शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक प्रस्तुतिसँगै नेपाल आदिवासी जनजाति महासङ्घ कतार अन्तर्गत आबद्ध विभिन्न मातृ संस्थाहरूको सहभागितामा जातीय पहिचान झल्काउने सामूहिक नृत्यहरू प्रस्तुत गरिनेछन्। यसले कतारमा रहेका विभिन्न जनजाति समुदायबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागी हुन चाहने दर्शक तथा टिकट होल्डरहरूका लागि कतारका विभिन्न स्थानहरूबाट निःशुल्क यातायातको व्यवस्था समेत गरिएको संघले जनाएको छ। यसले कार्यक्रमप्रति समुदायको सहभागिता अझ व्यापक हुने अपेक्षा गरिएको छ।
कतारमा रहेका सम्पूर्ण नेपाली समुदाय, सामाजिक संघ–संस्था, बुद्धिजीवी तथा संस्कृतिप्रेमीहरूलाई “माघ्या सकराटी” कार्यक्रमलाई भव्य र सफल बनाउन उपस्थितिका लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ।
“माघ्या सकराटी” मगर समुदायको मात्र नभई सम्पूर्ण नेपाली समाजको पहिचान, संस्कृति, एकता र प्रकृतिसँगको सम्बन्ध झल्काउने गौरवपूर्ण पर्व हो।
“माघ्या” शब्दले माघ महिना जनाउँछ भने “सकराटी” ले सूर्यले राशि परिवर्तन गर्ने दिन (संक्रान्ति) लाई जनाउँछ। यसैले माघ्या सकराटी भन्नाले माघ महिनामा सूर्य उत्तरायण लाग्ने दिन लाई बुझाउँछ। यो दिनदेखि चिसो क्रमशः घट्दै जाने, प्रकृतिमा नयाँ ऊर्जा सञ्चार हुने र नयाँ जीवन चक्र सुरु हुने धार्मिक तथा सांस्कृतिक विश्वास रहेको छ।
विदेशमा रहे पनि आफ्नो मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको माघ्या सकराटी–मिनाम ल्हेस् ५०१९ कार्यक्रम कतारमा रहेका मगर समुदाय मात्र नभई सम्पूर्ण नेपाली समाजका लागि सांस्कृतिक एकताको प्रतीक बन्ने अपेक्षा गरिएको छ।
