थारु कल्याणकारी सभा च्याप्टर कतारद्वारा माघी पर्व तथा आठौं अधिवेशन भव्य रूपमा सम्पन्न

महोत्तरी टुडे     

दोहा, कतार- थारु कल्याणकारी सभा च्याप्टर कतारको आयोजनामा थारु समुदायको महान पर्व माघी तथा संस्थाको आठौं अधिवेशन थारु समुदायको नयाँ वर्ष थारु संवत् २६४९ को शुभ अवसर पारेर भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

FB_IMG_1768196431707.jpg

दोहास्थित सनैया वेलफेयर रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। संस्थाका अध्यक्ष हरी महतोको सभापतित्वमा सम्पन्न कार्यक्रम राष्ट्रिय गान, दीप प्रज्वलन तथा ब्यानर अनावरणसँगै औपचारिक रूपमा उद्घाटन गरिएको थियो।

FB_IMG_1768196436489.jpg

कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सचिव ओम नारायण चौधरीले राख्दै सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुका साथै थारु संवत् २६४९ को शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय कलाकारहरूको नेतृत्वमा थारु समुदायको मौलिक संस्कृति झल्किने थारु भाषाका गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकहरूलाई अत्यन्तै आकर्षित गरेको थियो।

InShot_20260112_085229022.jpg

वक्ताहरूको धारणा

कार्यक्रममा विशेष सम्बोधन गर्दै सामाजिक अभियन्ता सागर नेपालले प्रवासमा रहेका नेपाली चेली, बेटी तथा बहिनीहरूका विषयमा महत्वपूर्ण सन्देश दिनुभयो। उहाँले जहाँ–जहाँ काम गरिए पनि इमानदार, जिम्मेवार र सही ढंगले काम गर्नुपर्ने, आमा–बुवाको नाम उज्यालो पार्ने कार्य गर्नुपर्ने, कसैको गलत बहकाउ वा नकारात्मक प्रभावमा नपर्न आग्रह गर्नुभयो। साथै सामाजिक सञ्जाल प्रयोग गर्दा संयमता अपनाउन र आफ्नो आचरणमार्फत नेपाल देशको नाम समेत उज्यालो पार्नुपर्ने उहाँको भनाइ थियो। उहाँले थारु समुदायको ऐतिहासिक योगदान, सामाजिक एकता र सांस्कृतिक पहिचानको खुलेर प्रशंसा गर्नुभयो।

त्यसैगरी नेपाल पत्रकार महासंघ कतार शाखाका पूर्व अध्यक्ष करिम बक्स मियाँले माघी पर्वको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे प्रकाश पार्दै माघी पर्व थारु समुदायको नयाँ वर्ष, एकता र आत्मसम्मानको प्रतीक भएको उल्लेख गर्नुभयो।

InShot_20260112_085106689.jpg

सांस्कृतिक कार्यक्रम र सहभागिता

कार्यक्रममा विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, कलाकार तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। थारु समुदायका महिला, युवा तथा ज्येष्ठ सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको थियो। परम्परागत पहिरन, बाजागाजा र नृत्यले सभाहललाई थारु गाउँको झल्को दिएको अनुभूति सहभागीहरूले व्यक्त गरेका थिए।

InShot_20260112_085659656.jpg

सहभागीहरूका लागि थारु परिकार तिलको लड्डु, खिर लगायतका परम्परागत भोजनको व्यवस्था गरिएको थियो। प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नु संस्थाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएका थिए।

InShot_20260112_085610188.jpg

आठौं अधिवेशनबाट नयाँ नेतृत्व चयन

खुला तथा बन्द सत्र गरी दुई चरणमा सम्पन्न आठौं अधिवेशनको बन्द सत्रबाट भगवती चौधरीको सभापतित्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन समितिका संयोजक श्यामलाल चौधरीले जानकारी दिनुभयो।

नव-निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः

सभापति : भगवती चौधरी

वरिष्ठ उपसभापति : रमानन्द चौधरी

प्रथम उपसभापति : घनश्याम चौधरी

द्वितीय उपसभापति : ओम नारायण चौधरी

महामन्त्री : जितेन्द्र चौधरी

उप–महामन्त्री : विरेन्द्र प्रसाद चौधरी

सचिव : रामनारायण चौधरी

कोषाध्यक्ष : रञ्जित कुमार चौधरी

सह–कोषाध्यक्ष : सबनम कुमार चौधरी

नव-निर्वाचित सभापति भगवती चौधरीले मन्तव्य दिँदै आगामी कार्यकालमा संस्थालाई अझ सक्रिय, पारदर्शी र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, सीपमूलक तालिम, आपतकालीन सहयोग, सांस्कृतिक संरक्षण तथा युवामुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने बताउनुभयो।

भाग्यशाली चिट्ठा पुरस्कार वितरण

कार्यक्रमअन्तर्गत आयोजित भाग्यशाली चिट्ठामा

प्रथम पुरस्कार (ल्यापटप) चिट्ठा नं. ३३९ — सृजना चौधरी

द्वितीय पुरस्कार (स्मार्ट फोन) चिट्ठा नं. ६०५ — लक्ष्मी चौधरी

तृतीय पुरस्कार (स्मार्ट फोन) चिट्ठा नं. ७४९ — रघुनन्दन चौधरी

ले प्राप्त गर्नुभएको थियो। साथै सान्त्वना पुरस्कारअन्तर्गत २० जनालाई ब्लुटुथ तथा स्मार्ट वाच प्रदान गरिएको थियो।

समापन मन्तव्य

कार्यक्रमको समापन गर्दै सभापति हरी महतोले माघी पर्व तथा अधिवेशन सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति, संघ–संस्था, कलाकार तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै थारु समुदायको नयाँ वर्ष थारु संवत् २६४९ को शुभकामना दिनुभयो। कार्यक्रमको सहजीकरण संस्थाका महामन्त्री रमानन्द चौधरीले गर्नुभएको थियो।

InShot_20260112_090001878.jpg

“जातीय पहिचानको संरक्षण तथा प्रवर्द्धन, शैक्षिक, आर्थिक र सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मूल नाराका साथ सन् २००८ मा स्थापना भएको थारु कल्याणकारी सभा च्याप्टर कतारले प्रवासमा रहेर पनि थारु समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा निरन्तर योगदान दिँदै आएको छ।