मधेशबासीको नाममा प्रदेश प्रमुखको अपिल- समाजमा शान्ति र अमनचयन कायम राख्न आग्रह

महोत्तरी टुडे     

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख माननीय सुरेन्द्र लाल कर्णले सम्पूर्ण मधेशबासी दाजुभाइ तथा दिदीबहिनीहरूको नाममा समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न अपिल गर्नुभएको छ।

प्रदेश प्रमुख कर्णले मधेश विविध भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर संगमस्थल भएको उल्लेख गर्दै परापूर्वकालदेखि नै आपसी सम्मान, सहअस्तित्व र भाइचारा मधेशको पहिचान रहेको बताउनुभएको छ। उहाँले “अतिथि देवो भवः” र “वसुधैव कुटुम्बकम्” जस्ता मूल्य–मान्यताले मधेशी समाजलाई एकतामा बाँधेको स्मरण गराउनुभयो।

हालै केही स्थानमा देखिएका अस्वाभाविक गतिविधि तथा असमझदारीप्रति चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुखले यस्ता घटनाले सामाजिक एकता र सद्भावमा आँच पुग्न सक्ने तर्फ सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ। समाजलाई विभाजन गर्ने तत्वहरूबाट सावधान रहँदै कुनै पनि प्रकारको उक्साहट वा आवेगमा नआइ धैर्य र संयम अपनाउन उहाँले अनुरोध गर्नुभयो।

विचार र आस्था फरक हुन सक्ने भए पनि मानवीय पहिचान र सामाजिक एकता साझा रहेको उल्लेख गर्दै सामाजिक सञ्जाल वा अन्य माध्यममार्फत कसैको भावनामा चोट पुर्‍याउने गतिविधि नगर्न पनि अपिल गरिएको छ। प्रदेश प्रमुखले समाजमा शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

FB_IMG_1767609379266.jpg

अन्त्यमा उहाँले संवाद, सहकार्य र सहअस्तित्व नै सबै समस्याको समाधान भएको उल्लेख गर्दै मधेश केवल विविधताको भूमि मात्र नभई एकता, प्रेम, शान्ति र सद्भावको प्रतीक भएको स्पष्ट पार्नुभयो।

प्रदेश प्रमुखको यो अपिलले समाजमा आपसी समझदारी बढाउन र अमनचयन कायम राख्न सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।