पत्रकार यादवको अभियान सफल, एनआरएन कतारको पहलमा अफरोज शेख दुई वर्षपछि जेलमुक्त

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा-

आर्थिक लेनदेन मुद्दामा जरिवाना तिर्न नसक्दा कतारको जेलमा रहेका सिरहाका अफरोज शेखलाई सहयोग संकलनमार्फत रिहा गरियो,

सिरहाको औरही गाउँपालिका–५ निवासी अफरोज शेख कतारको जेलबाट रिहा भएका छन्। आर्थिक लेनदेनसम्बन्धी मुद्दामा केही व्यक्तिहरूको कारण फसाइएका अफरोज अदालतको फैसलाअनुसार तोकिएको जरिवाना तिर्न नसक्दा विगत करिब दुई वर्षदेखि कतारको जेलमा जीवन बिताइरहेका थिए।

अफरोजको पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेको र अदालतले सुनाएको करिब साढे आठ हजार रुपैयाँ बराबरको जरिवाना तिर्न समेत परिवार असमर्थ रहेको जानकारी पाएपछि पत्रकार सन्तोष यादवले उनको रिहाइका लागि आर्थिक संकलन अभियान सुरु गरेका थिए। मानवीय संवेदना र सामाजिक उत्तरदायित्वका आधारमा सुरु गरिएको उक्त अभियानमा विभिन्न व्यक्ति तथा संस्थाहरूको उल्लेखनीय सहयोग जुटेपछि अन्ततः अफरोज जेलमुक्त हुन सफल भएका हुन्।

अफरोजलाई जेलबाट छुटाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थी र उपाध्यक्ष जहाँगीर आलमले विशेष भूमिका निर्वाह गरेका छन्। उनीहरूको पहल, समन्वय र सक्रियताले कानुनी प्रक्रिया सहज बनेको र आवश्यक आर्थिक सहयोग समयमै जुटेको बताइएको छ।

पत्रकार यादवले अफरोजको रिहाइसँगै अभियान सफल बनेको प्रतिक्रिया दिँदै सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। “विदेशमा समस्यामा परेका नेपालीलाई सहयोग गर्नु हाम्रो साझा दायित्व हो। सबैको सहयोगका कारण एक नेपाली दाजुभाइले स्वतन्त्रता पाउनुभयो,” यादवले भने।

यो घटनाले विदेशमा काम गर्ने नेपाली श्रमिकहरू विभिन्न बहानामा कानुनी झमेलामा फस्ने र आर्थिक अभावका कारण लामो समयसम्म जेल जीवन बिताउनुपर्ने यथार्थलाई फेरि एकपटक उजागर गरेको छ। साथै, व्यक्तिगत पहल, पत्रकारिता र प्रवासी नेपाली संस्थाहरूको सहकार्यले मानवीय संकट समाधान गर्न सकिने उदाहरणसमेत प्रस्तुत गरेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष श्री कृष्ण पन्थीको निर्देशनमा उहाँकै कार्यसमितिका तृतीय उपाध्यक्ष श्री जहागिर आलमको समन्वयमा उक्त उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएको हो।

यस कार्यमा श्रमिक संयोजक श्री सन्तोष पौडेलले महत्वपूर्ण साथ र सहयोग प्रदान गर्नुभएको थियो।

उक्त उद्धार अभियानलाई सफल बनाउन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको एकताबद्ध सहयोग र साथ रहेको थियो।

स्थानीयवासी तथा शुभेच्छुकहरूले अफरोजको सकुशल रिहाइप्रति खुशी व्यक्त गर्दै भविष्यमा यस्ता घटनामा परेका नेपालीहरूका लागि अझ प्रभावकारी सहयोग संयन्त्र विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।