कतारमा नेपालीहरू ठगिएको घटनाप्रति एनआरएनए एनसीसी कतारको गम्भीर ध्यानाकर्षण
दोहा, कतार — कतारमा केही व्यक्तिहरूले दोकान तथा व्यवसायको नामको आडमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई योजनाबद्ध रूपमा ठगेको गम्भीर घटना सार्वजनिक भएको छ। पीडितहरूसँगको भेटघाट, छलफल तथा सम्बन्धित कागजातहरूको भेरिफिकेशनपछि उक्त ठगी प्रकरण पुष्टि भएको गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद कतारले जनाएको छ।
एनआरएनए एनसीसी कतारका अनुसार सुरुमा उक्त विषय बुझ्न गाह्रो भए पनि प्रमाणहरू जाँच गर्दा ठगी भएको स्पष्ट देखिएको छ। संस्थाले नेपालीकै नाम, विश्वास र पहिचानको आडमा गरिएको यस्तो ठगीलाई अत्यन्तै दुःखद, गम्भीर र निन्दनीय कार्यको रूपमा व्याख्या गरेको छ।
संस्थाले दोकान खोलेर वा व्यवसायको नाममा नेपाली जनतालाई ठग्ने दोषी व्यक्तिहरूलाई कतार र नेपाल दुवै देशका सम्बन्धित कानुनी दायराभित्र ल्याई कडाभन्दा कडा कारबाही—जेल सजायसमेत—हुनुपर्ने माग गरेको छ। यस विषयमा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायहरूमार्फत आवश्यक पहल भइरहेको र छिट्टै ठोस परिणाम आउनेमा आशावादी रहेको जनाएको छ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले कतारमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमित रहन, अफवाहमा नपर्न र कुनै पनि आर्थिक कारोबार गर्दा आवश्यक कागजात तथा प्रमाण राम्ररी जाँच गर्न आग्रह गरेका छन्। उनले सत्य र न्यायको पक्षमा एकजुट भएर कतारको कानुनको पूर्ण पालना गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
एनआरएनए एनसीसी कतारले पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै न्याय अवश्य मिल्ने विश्वास दिलाएको छ।
