मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (ईदुल अजहा) सम्सी लगायत आज देशभरमा मनाइँदै छ ।


महोत्तरी टुडे डेस्क सम्सी: ईदुल फित्र (इद) अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
यस अवसरमा मधेश प्रदेश, महोत्तरी लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।
महोत्तरी जिल्लामा इस्लाम धर्मावलम्बीको सघन बसोबास भएको जिल्ला हो। जिल्लाका १५ वटै स्थानीय तहमा धेरथोर बसोबास छ । यहाँका स्थानीयमध्ये सम्सी, जलेश्वर, लोहारपट्टी, बलवा, मनराशिसवा, र मटिहानी इस्लाम धर्मावलम्बीको बाक्लो बसोबास भएका ठाउँ हुन् ।
यसै गरी बर्दिबास,औरही,गौशाला,एकडारा,रामगोपालपुर र भङ्गाहा सोनमा, पिपरा, महोत्तरीका केही बस्ती पनि मुस्लिम बसोबास बाहुल्य छन् । यी बस्तीमा आज कुर्बानी (बलि)का लागि खसी, राँगा जुटाइएका छन् । पर्वले मुस्लिम बसोबासका बस्तीमा रौनक देखिँदो छ । पर्वका लागि काम विशेषले बिदेश र टाढाटाढा रहेका पनि घर फर्र्केपछि परिवारजनमा खुसी थपिएको छ ।
हिजरी संवत्अनुसार १४४६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलैहे सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बैरगिया जामे मस्जिदका मौलानाले जानकारी दिए ।
मुस्लिम धर्म गुरु (मौलाना) अब्दुल गफ्फारले ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्लाह जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए ।
‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’उनले भने ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् ।
यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।
धार्मिक मान्यताअनुसार अल्लाहका नवी(दूत) इब्राहिम अलैहे सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।
निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।
उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए ।
यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान(बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइएको छ ।
इद उल अजहा बकरईदको यस अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।
मुस्लिम धर्मावलम्बीले शनिबार देखि सोमबार सम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको बैरगिया मदरसाका मौलाना अब्दुल गफ्फारले जानकारी दिए ।