नेपाली श्रमिक र परिवारबीच स्नेह मिलन गराउँदै एनआरएनए कतार

आशिक हुसैन शेख     

दोहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो समयदेखि परिवारबाट टाढा रहेर कतारमा कार्यरत नेपाली श्रमिकलाई परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले विशेष अभियान सञ्चालन गर्ने भएको छ।

 

शनिबार दोहास्थित गोर्खाली रेस्टुरेन्ट, मुन्जतामा आयोजित पत्रकार सम्मेलनमार्फत एनआरएनए कतारले अभियानको औपचारिक जानकारी सार्वजनिक गरेको हो। अभियानले वैदेशिक रोजगारीका क्रममा लामो समयसम्म परिवारसँग प्रत्यक्ष भेटघाट गर्न नपाएका नेपाली श्रमिक तथा उनीहरूका परिवारलाई केही समयका लागि भए पनि एकै ठाउँमा ल्याएर खुसी साटासाट गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

 

अभियानअन्तर्गत छनोटमा परेका १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमणमा ल्याइनेछ। भ्रमणका क्रममा परिवारका सदस्यहरूको हवाई टिकट, कतार आगमनपछि विमानस्थलमा स्वागत तथा स्वदेश फर्किने क्रममा बिदाइ, तारे होटलमा बसोबास तथा खानपानका साथै कतारका विभिन्न पर्यटकीय तथा महत्वपूर्ण स्थलहरूको भ्रमणको व्यवस्था गरिने जनाइएको छ।

 

वैदेशिक रोजगारीका कारण नेपाली श्रमिकहरू वर्षौँसम्म परिवारबाट टाढा बस्नुपर्ने बाध्यता रहँदै आएको छ। विशेषगरी श्रमिकहरूले परिवारको आर्थिक अवस्था सुधार गर्न विदेशमा मेहनत गरिरहँदा आफ्ना अभिभावक, श्रीमती, छोराछोरी तथा आफन्तसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर सीमित हुने गरेको छ। यही वास्तविकतालाई मध्यनजर गर्दै अभियानमार्फत श्रमिक र परिवारबीचको भावनात्मक दूरी केही हदसम्म कम गर्ने प्रयास गरिएको आयोजकको भनाइ छ।

 

भिक्टोरिया गोल्ड एन्ड डायमन्डको मुख्य प्रायोजन तथा क्यूएफएम रेडियो नेटवर्कको सहकार्यमा सञ्चालन हुने अभियानले नेपाली श्रमिकको योगदानलाई सम्मान गर्नुका साथै उनीहरूको पारिवारिक भावनालाई प्राथमिकतामा राख्ने उद्देश्य लिएको छ।

 

आयोजकका अनुसार अभियान केवल भ्रमणमा सीमित नभई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको जीवनमा परिवारको महत्व र उनीहरूले विदेशमा बसेर गरेको योगदानलाई सम्मान गर्ने सामाजिक पहलका रूपमा अघि बढाइनेछ। परिवारका सदस्यलाई कतार ल्याएर श्रमिकसँग केही समय बिताउने, कतारको सामाजिक तथा सांस्कृतिक वातावरणसँग परिचित गराउने र सुखद सम्झना निर्माण गर्ने अवसर प्रदान गरिनेछ।

 

पत्रकार सम्मेलनमा अभियानको उद्देश्य, सञ्चालन प्रक्रिया तथा सहभागी छनोटसम्बन्धी विषयमा जानकारी दिइएको थियो। अभियानमा सहभागी हुने श्रमिक तथा उनीहरूका परिवार छनोटका लागि आवश्यक मापदण्ड र प्रक्रिया सम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ।

 

एनआरएनए कतारले अभियानलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्दै छनोटदेखि भ्रमण सम्पन्न हुँदासम्मका आवश्यक विवरण आफ्ना आधिकारिक सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने जनाएको छ।

 

अभियानका आगामी प्रक्रिया, आवेदन तथा छनोटसम्बन्धी थप विवरण एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारका आधिकारिक सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।