धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा रामहरि श्रेष्ठ

महोत्तरी टुडे     

दोहा, कतार । धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहामा भव्य रूपमा सम्पन्न भएको छ। सनैयास्थित लालीगुराँस रेस्टुरेन्टमा आयोजित अधिवेशनको बन्द सत्रले सिद्धलेक गाउँपालिका–१ का रामहरि श्रेष्ठको अध्यक्षतामा सन् २०२६–२०२८ कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

 

अधिवेशनबाट संस्थाको प्रथम उपाध्यक्षमा मिलन रानाभाट, द्वितीय उपाध्यक्षमा अनिता तामाङ, महासचिवमा अम्बरबहादुर गुरुङ, सचिवमा रमेश इटनी, कोषाध्यक्षमा विनोद गोले गुरुङ र सह–कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन भएका छन्।

 

यसैगरी कार्यसमिति सदस्यहरूमा डम्बरबहादुर श्रेष्ठ ‘गणेश’, इन्दिरा परियार, सुजन तामाङ, प्रकाश भुजेल, कल्पना काप्री, सुरज रोका, सुरेन्द्र श्रेष्ठ र विकास मल्ल ठकुरी रहेका छन्।

 

समाजका कार्यवाहक अध्यक्ष गौतम वाइबा तामाङको सभापतित्व एवं गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा औपचारिक समारोह सम्पन्न भएको थियो। द्वितीय उपाध्यक्ष उषा रिमालको स्वागत मन्तव्य तथा नृत्याङ्गना अस्मिता लामिछानेको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार तथा धादिङेली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले धादिङ सेवा समाज कतार र एनआरएनए एनसीसी कतारबीचको सहकार्य तथा सम्बन्ध निरन्तर मजबुत बन्दै गएको बताए। उनले कतारमा रहेका नेपाली समुदायका सामाजिक गतिविधि, समस्या समाधान तथा आपसी सहकार्यका लागि नेपाली संघसंस्थाबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।

 

अर्थमन्त्री डा. वाग्लेको कतार भ्रमणका क्रममा सामाजिक सञ्जालमा उठेका विभिन्न जिज्ञासाबारे स्पष्ट पार्दै पन्थीले भ्रमणअघि नै साझा कार्यक्रमका लागि पहल गरिएको भए पनि व्यस्त समयतालिकाका कारण कार्यक्रम व्यवस्थापन गर्न नसकिएको जानकारी दिए।

 

अधिवेशनका क्रममा प्रस्तुत आर्थिक प्रतिवेदनमा देखिएको बक्यौताबारे सहभागीहरूले उठाएका प्रश्नको जवाफ दिँदै सभापति गौतम वाइबा तामाङले उक्त रकम समाजद्वारा विगतमा आयोजना गरिएका सांस्कृतिक कार्यक्रमहरूसँग सम्बन्धित रहेको स्पष्ट पारे। आफू केही समय नेपालमा रहनुपरेकाले संस्थागत गतिविधिमा केही ढिलाइ भए पनि कतार फर्किएपछि बक्यौता उठाउने तथा संस्थाको आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउने कामलाई तीव्रता दिइएको उनले बताए।

 

महासचिव रामहरि श्रेष्ठले सहजीकरण गरेको खुला सत्रमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा उपस्थित वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले धादिङेली समुदायको एकता, आपसी सहयोग र सामाजिक सेवाका क्षेत्रमा समाजले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

 

नवनिर्वाचित अध्यक्ष रामहरि श्रेष्ठले धादिङ सेवा समाज कतार सम्पूर्ण धादिङेलीको साझा संस्था भएकाले व्यक्तिगत तथा समूहगत स्वार्थभन्दा माथि उठेर सबै पक्षलाई समेट्दै संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले कतारमा रहेका धादिङेली नेपालीहरूको समस्या, सुख–दुःखमा साथ दिने तथा सामाजिक, सांस्कृतिक र मानवीय सेवाका गतिविधिलाई प्राथमिकतामा राख्ने बताए।

 

अध्यक्ष श्रेष्ठले नयाँ कार्यसमितिले संस्थाको पारदर्शिता, सक्रियता र आपसी सहकार्यलाई प्राथमिकता दिँदै कतारमा रहेका धादिङेली समुदायलाई एकताबद्ध बनाउन निरन्तर काम गर्ने बताए। साथै नयाँ पुस्तालाई संस्थासँग जोड्दै धादिङको कला, संस्कृति र पहिचानलाई कतारमा संरक्षण तथा प्रवर्द्धन गर्न विशेष पहल गरिने उनको भनाइ थियो।

 

अधिवेशनसँगै आयोजित सांस्कृतिक कार्यक्रममा विभिन्न कलाकारहरूले नेपाली मौलिक कला तथा संस्कृति झल्काउने गीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी धादिङेली तथा नेपाली समुदायले सांस्कृतिक प्रस्तुतिको मनोरञ्जन लिँदै नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।

 

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालमा संस्थालाई थप सक्रिय, व्यवस्थित र सबै धादिङेलीको साझा मञ्चका रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ। रासस