स्वास्थ्यमन्त्री घिमिरेद्वारा शिवराज अस्पतालको अनुगमन, सेवा सुधारमा जोड
प्रिन्स मिश्र, कपिलवस्तु ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सरकार मातहतका अस्पतालहरूको अनुगमन गर्ने क्रममा कपिलवस्तुको बहादुरगञ्जस्थित शिवराज अस्पतालको निरीक्षण गर्नुभएको छ।

अनुगमनका क्रममा मन्त्री घिमिरेले अस्पतालको सेवा प्रवाह, उपचार व्यवस्था तथा पूर्वाधारबारे अस्पताल प्रशासन, स्वास्थ्यकर्मी र सेवाग्राहीसँग जानकारी लिनुभएको थियो।

उहाँले प्रदेश सरकार अस्पतालहरूको सेवा सुधारमा प्रतिबद्ध रहेको उल्लेख गर्दै अस्पतालमा उपलब्ध उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको अधिकतम सदुपयोग गरी नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो।
अनुगमन टोलीमा स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठ, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरि पाण्डे, अस्पतालका प्रशासन प्रमुख डा. दुर्गेश लाल चौधरी, कृष्णनगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रजत प्रताप शाहलगायतको सहभागिता रहेको थियो।

सो अवसरमा डा. दुर्गेश लाल चौधरीले अस्पतालले प्रदान गरिरहेको सेवा, उपलब्धि तथा विद्यमान चुनौतीबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री घिमिरेले सीमावर्ती तथा ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। उहाँले शिवराज अस्पताललाई थप सुदृढ, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग, समन्वय तथा अभिभावकीय भूमिका निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री घिमिरेले CEONC (Comprehensive Emergency Obstetric and Newborn Care) सेवा सञ्चालनसँगै मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले अस्पतालमा स्वास्थ्य सेवाको दायरा विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन, सेवाको गुणस्तर अभिवृद्धि तथा संस्थागत क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले अस्पतालको दीर्घकालीन विकास योजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयबाट आवश्यक नीतिगत, प्राविधिक तथा समन्वयात्मक सहयोग निरन्तर उपलब्ध गराइने स्पष्ट पार्नुभयो।

कृष्णनगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रजत प्रताप शाहले CEONC सेवा सञ्चालनका लागि भएको पाँचवर्षीय सम्झौताले कृष्णनगर नगरपालिका तथा आसपासका नागरिकलाई आफ्नै क्षेत्रमा सुरक्षित, गुणस्तरीय र विशेषज्ञ प्रसूति तथा नवजात शिशु स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। साथै संघ, प्रदेश र स्थानीय सरकारसँगै विकास साझेदार संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै शिवराज अस्पताललाई लुम्बिनी प्रदेशकै नमुना सरकारी अस्पतालका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले शिवराज अस्पतालले छोटो अवधिमै सेवा विस्तार, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अस्पताललाई अझ सक्षम, प्रभावकारी र नागरिकमुखी स्वास्थ्य संस्थाका रूपमा विकास गर्न सबै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
