९ वर्षीय खेलाडी सामर्थ्य गुप्ता प्रमुख अतिथि, बर्दिबासलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
महोत्तरी टुडे डेस्क, जलेश्वर।
महोत्तरी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जलेश्वरस्थित रंगशालामा भव्यताका साथ सम्पन्न भएको छ। महोत्तरी जिल्ला खेलकुद विकास समिति, जलेश्वरको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार औपचारिक रूपमा सम्पन्न भएको हो।
यस वर्षको प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाबाट ७ सयभन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो तथा कबड्डी लगायतका विभिन्न खेलहरू समावेश गरिएको थियो।
एथलेटिक्स अन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर तथा ३००० मिटर दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, रिले दौड तथा जेभलिन थ्रो जस्ता प्रतिस्पर्धात्मक विधाहरू सञ्चालन गरिएको थियो, जसमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रतियोगिताको उद्घाटन कार्यक्रम महोत्तरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सत्येन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहको विशेष आकर्षणका रूपमा ९ वर्षीय टेबल टेनिस खेलाडी सामर्थ्य गुप्ता लाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। नेपालमा पहिलो पटक खेलाडीलाई प्रमुख अतिथि बनाएर प्रतियोगिता उद्घाटन गरिएको भन्दै यस कदमलाई ऐतिहासिक र प्रेरणादायी मानिएको छ।
प्रतियोगिताको समापनसँगै नतिजा सार्वजनिक गरिएको छ। उत्कृष्ट प्रदर्शन गर्दै बर्दिबास नगरपालिका ले प्रथम स्थान हासिल गरी २०८३ सालको राष्ट्रपति रनिङ शिल्ड उपाधि जित्न सफल भएको छ। विजेता टोलीले महोत्तरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सत्येन्द्र यादवको हातबाट शिल्ड ग्रहण गरेको थियो।
त्यसैगरी, औरही नगरपालिका ले दोस्रो स्थान हासिल गरेको छ भने गौशाला नगरपालिका ले तेस्रो स्थान प्राप्त गरेको छ। तीनै पालिकाका खेलाडीहरूले उच्च प्रतिस्पर्धा र खेलभावनासहित उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रतियोगिताको सफल आयोजनामा शिक्षक, प्रशिक्षक, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा दर्शकहरूको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ। साथै, कार्यक्रममा पूर्व मुख्यमन्त्री सरोज यादव, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरू, सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व अध्यक्षहरू तथा खेल संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथिहरूले खेलाडीहरूलाई हौसला प्रदान गर्दै खेलकुदको विकासमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताएका थिए।
यस प्रकारका प्रतियोगिताले जिल्लामा खेलकुद प्रतिभाको पहिचान, विकास तथा युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
अन्त्यमा, प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्याउने सम्पूर्ण खेलप्रेमी, गुरु, शिक्षक, प्रशिक्षक, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दर्शक तथा खेलाडीहरू प्रति आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
