बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा।

महोत्तरी टुडे     

काठमाडौं । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद-उल-अजहा) को अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त दिन देशभर सार्वजनिक बिदा रहने जानकारी दिएको हो।

 

गृह मन्त्रालयका अनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा २०८३ साल जेठ १४ गते बिहीबार बकर ईद पर्व परेको पुष्टि भएपछि सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याइएको हो।

 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरिएको छ। साथै पर्वले आपसी सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक एकता तथा भाइचाराको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

 

बकर ईद इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्वमध्ये एक मानिन्छ। यो पर्व त्याग, बलिदान, सहयोग र मानवताको सन्देश बोकेको पर्वका रूपमा मनाइने गरिन्छ। नेपालसहित विश्वभर रहेका मुस्लिम समुदायले विशेष नमाज अदा गरी एकआपसमा शुभकामना आदानप्रदान गर्दै पर्व मनाउने परम्परा रहेको छ।

 

सरकारले विभिन्न धर्म, संस्कृति र समुदायको सम्मान गर्दै राष्ट्रिय महत्त्वका पर्वहरूमा सार्वजनिक बिदा दिने अभ्यासलाई निरन्तरता दिँदै आएको छ।