भारत–नेपाल सीमा समन्वय बैठक मधुवनीमा सम्पन्न, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
महोत्तरी टुडे डेस्क- भारत–नेपाल सीमा समन्वय बैठक मधुवनीमा सम्पन्न, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको छ।
भारतको मधुबनी स्थित मिथिला चित्रकला संस्थानमा जिल्लास्तरीय भारत–नेपाल सीमा समन्वय समिति (BDCC) बैठक सम्पन्न भएको छ। बैठकमा नेपालतर्फबाट महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो भने भारततर्फबाट मधुवनी जिल्लाका अधिकारीहरू सहभागी भएका थिए।

बैठकमा सीमा क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थापन, आपराधिक गतिविधि नियन्त्रण, अवैध ओसारपसार रोकथाम तथा दुई देशबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर छलफल भएको जनाइएको छ।

छलफलका क्रममा सीमा क्षेत्रमा हुने चोरी, तस्करी, लागूऔषध कारोबार, मानव बेचबिखन लगायतका गतिविधि नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायबीच सूचना आदान–प्रदान तथा संयुक्त सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो।

बैठकमा सहभागी अधिकारीहरूले खुला सीमाका कारण उत्पन्न हुने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै दुवै देशका प्रशासनिक तथा सुरक्षा निकायबीच नियमित समन्वय आवश्यक रहेको धारणा राखेका थिए। साथै सीमा क्षेत्रमा शान्ति, सुरक्षा र आपसी सद्भाव कायम राख्न स्थानीय तहसम्म सहकार्य विस्तार गर्नुपर्नेमा समेत जोड दिइएको बताइएको छ।
उक्त बैठकले नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
