सडक ढलान योजनामा घुस लिँदै सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव पक्राउ

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क, जेठ ८ :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई ७२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

659102387_3701209020009932_8057639676884098305_n.jpgअख्तियारको बर्दिबासस्थित टोलीले शुक्रबार सडक ढलान योजनाको रकम निकासा गराइदिने नाममा घुस लिइरहेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । आयोगका अनुसार यादवले सार्वजनिक पदको दुरुपयोग गर्दै उपभोक्ता समितिसँग गैरकानुनी रूपमा रकम माग गरेका थिए । सोनमा गाउँपालिका–२ मा मस्जिददेखि साजिदको घरसम्म निर्माण गरिएको सडक ढलान योजनाको भुक्तानी प्रक्रियासँग जोडेर उनले रकम माग गरेको आरोप लागेको छ ।

घुस लेनदेन भइरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो । निगरानीपछि उनलाई घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।