कोशी प्रदेश समन्वय परिषद् कतारद्वारा नयाँ वर्ष, श्रमिक दिवस र सांस्कृतिक पर्वहरू भव्य रूपमा मनाइयो।

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार — कोशी प्रदेश समन्वय परिषद् कतारले नयाँ वर्ष २०८३, अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा किरात समुदायको महान् चाड उभौलीको अवसर पारेर शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कतारमा रहेका कोशी प्रदेशवासीहरूबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचान मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

IMG-20260504-WA0010.jpg

परिषद्का अध्यक्ष रुद्र शर्मा आचार्यको सभापतित्व तथा संस्थापक अध्यक्ष एवं वर्तमान संरक्षक संयोजक चूडामणि कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो। प्रमुख अतिथि कार्कीले आफ्नो मन्तव्यमा नेपालको बहुजातीय, बहुसांस्कृतिक स्वरूपको चर्चा गर्दै कोशी प्रदेशलाई विविधताले भरिएको सुन्दर फूलबारीको रूपमा व्याख्या गरे। उनले श्रमको सम्मान गर्दै विश्वभर रहेका नेपाली श्रमिकहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरे। “पद र हैसियत फरक हुन सक्छ, तर श्रम गर्ने हामी सबै श्रमिक हौं,” उनले भने।

IMG-20260504-WA0013.jpg

कार्यक्रममा कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका कलाकारहरूले मौलिक गीत, संगीत तथा नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। सीमित स्रोतसाधनका बाबजुद पनि कलाकारहरूले प्रवासमा आफ्नो संस्कृति र परम्पराको झल्को प्रस्तुत गर्न सफल भएका थिए।

IMG-20260504-WA0003.jpg

कतारमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले समन्वय परिषद्को सक्रियता र योगदानको प्रशंसा गर्दै नयाँ वर्ष, श्रमिक दिवस र बुद्ध जयन्तीको शुभकामना व्यक्त गरेका थिए।

IMG-20260504-WA0012.jpg

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष आचार्यले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरू तथा सहभागीप्रति आभार व्यक्त गरे। उनले क्षेत्रीय परिस्थितिका कारण योजना गरिएको ठूलो आउटडोर कार्यक्रम तत्काल सम्भव नभए पनि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

IMG-20260504-WA0008.jpg

महासचिव महेन्द्र उप्रेतीले कार्यक्रम सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम रसाइलीले स्वागत मन्तव्य राखेका थिए। सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच एकता र सांस्कृतिक सम्बन्ध अझ मजबुत बनाएको आयोजकले जनाएको छ।

IMG-20260504-WA0007.jpgIMG-20260504-WA0005.jpgIMG-20260501-WA0021.jpg