कतारमा अफवाह र फोटो,भिडियो प्रसारणको आरोपमा १९४ जना पक्राउ

महोत्तरी टुडे     

दोहा कतार- कतारको गृह मन्त्रालय Qatar Ministry of Interior ले अफवाह फैलाउने तथा सुरक्षा सम्बन्धी गतिविधिहरूको भिडियो खिची सामाजिक सञ्जालमार्फत प्रसारण गरेको आरोपमा १९४ जनालाई पक्राउ गरिएको जनाएको छ।

मन्त्रालयका अनुसार हालको परिस्थितिसँग सम्बन्धित सुरक्षा गतिविधि, सरकारी कामकारबाही वा संवेदनशील स्थानहरूको भिडियो खिच्ने, त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तथा अपुष्ट जानकारी फैलाउने कार्य कानूनविपरीत हो। यस्तो गतिविधिले सुरक्षा व्यवस्थामा असर पार्ने भएकाले सर्वसाधारणलाई यस्ता कार्य नगर्न कडा चेतावनी दिइएको छ।

मन्त्रालयले सूचना केवल आधिकारिक स्रोतबाट मात्र लिन आग्रह गर्दै भ्रामक सामग्री, अफवाह वा जनमत भड्काउने किसिमका पोस्ट, भिडियो वा सन्देशहरू प्रसारण नगर्न पनि अनुरोध गरेको छ। जारी निर्देशनको उल्लङ्घन गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने स्पष्ट पारिएको छ।

यसैबीच Embassy of Nepal in Doha ले पनि कतारमा रहेका नेपाली नागरिकहरूलाई यस्ता गतिविधिबाट टाढा रहन बारम्बार अपिल गर्दै आएको छ। दूतावासले कतारको कानून, नियम र सामाजिक मर्यादाको सम्मान गर्दै अपुष्ट सूचना फैलाउने, सुरक्षा सम्बन्धी भिडियो खिच्ने वा सामाजिक सञ्जालमा सेयर गर्ने कार्य नगर्न आग्रह गरेको छ।

दूतावासले सबै नेपालीलाई संयमता अपनाई आधिकारिक सूचना मात्र विश्वास गर्न तथा जिम्मेवार सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको छ।