पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारीमा सरकार
काठमाडौं । सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ। बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले विगतदेखि चल्दै आएको राजनीतिक भागबन्डा र सिफारिसको परम्परा तोड्दै नयाँ अभ्यास सुरु गर्न लागेको हो।
हालसम्म राजदूत नियुक्ति प्रायः परराष्ट्र मन्त्रालयका क्यारियर कूटनीतिज्ञ तथा सत्तारुढ दलहरूको सिफारिसका आधारमा हुँदै आएको थियो। तर अब सरकारले निश्चित संख्यामा विज्ञापन खुलाएर प्रतिस्पर्धामार्फत योग्य र सक्षम व्यक्तिलाई छनोट गर्ने योजना बनाएको छ।
परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी योग्यता, दक्षता र अनुभवका आधारमा राजदूत नियुक्त गरिनेछ। यसले कूटनीतिक क्षेत्रमा पारदर्शिता र पेशागत दक्षता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञ (परराष्ट्र मन्त्रालयका कर्मचारी)बाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था रहेको छ। सरकारले ल्याउन लागेको नयाँ अभ्यासले यही संरचनाभित्र रहेर प्रतिस्पर्धालाई प्राथमिकता दिने संकेत गरेको छ।
हाल नेपालका कुल ४४ वटा विदेशस्थित नियोगमध्ये ३४ दूतावास र १० वाणिज्य दूतावास कार्यालय सञ्चालनमा छन्। भारत, चीन, अमेरिका, बेलायतलगायत महत्वपूर्ण मुलुकहरूमा समेत गरी हाल १७ राजदूत पद रिक्त रहेको अवस्था छ।
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारी तयारीलाई कूटनीतिक क्षेत्रमा सुधारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यदि यो प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन भएमा योग्य व्यक्तिहरूको पहुँच बढ्ने, राजनीतिक प्रभाव घट्ने र नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ हुने अपेक्षा गरिएको छ।
