कतारस्थित नेपाली राजदूतावासद्वारा विशेष अनुरोध ।
दोहा। नेपाली राजदूतावास, Embassy of Nepal, Doha ले हाल विकसित विशेष परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सतर्कता अपनाउन विशेष अनुरोध जारी गरेको छ। दूतावासले आधिकारिक निकायबाट प्राप्त सूचना तथा निर्देशनहरू पालना गर्न आग्रह गर्दै अफवाह र अपुष्ट समाचारमा विश्वास नगर्न सचेत गराएको छ।
जारी सूचनामा कतारको हवाई क्षेत्र (Airspace) खुला भएपछि मात्र नियमित उडान सञ्चालन हुने उल्लेख गर्दै थप तथा अद्यावधिक जानकारीका लागि Qatar Civil Aviation Authority को आधिकारिक वेबसाइट हेर्न अनुरोध गरिएको छ।
दूतावासले सामाजिक सञ्जालमा घटना सम्बन्धी तस्वीर, भिडियो वा अपुष्ट सामग्री शेयर/पोस्ट नगर्न, भिडभाड हुने स्थानमा अनावश्यक रूपमा नजान, शंकास्पद वस्तु वा स्थान नजिक नपुग्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै, सुरक्षित स्थानमा बस्न र सिसा झ्याल/बार्दली नजिक अनावश्यक रूपमा नबस्न पनि सुझाव दिइएको छ।
मोबाइल फोन पूर्ण चार्ज अवस्थामा राख्न, आवश्यक नगद तथा परिचयपत्र साथमा राख्न र नेपालस्थित परिवार तथा कतारमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन दूतावासले आग्रह गरेको छ।
दोहा ट्रान्जिटमार्फत यात्रा गर्ने क्रममा दोहामै रोकिएका नेपाली नागरिकलाई मेडिकल इमर्जेन्सी परेमा तुरुन्त दूतावासमा सम्पर्क गर्न भनिएको छ। साथै, पछिल्लो समय विभिन्न बहानामा फोन गरी दुःख दिने स्क्यामरहरू सक्रिय हुन सक्ने जनाउँदै कतारी आईडी, राहदानी, बैंक खाता, एटीएम कार्ड लगायतका व्यक्तिगत तथा महत्वपूर्ण विवरण कसैलाई पनि नदिन सचेत गराइएको छ।
दूतावासले आपतकालीन अवस्थामा सम्पर्क गर्न मिल्ने विभिन्न महत्वपूर्ण नम्बरहरू समेत सार्वजनिक गरेको छ।

