मध्यपूर्वमा चर्कियो तनाव : युएईमा एक नेपालीको मृत्यु, कतार उच्च सतर्कतामा

आशिक हुसैन शेख     

दोहा – इरानका सर्वोच्च नेता Ayatollah Ali Khamenei को मृत्यु भएसँगै मध्यपूर्व क्षेत्रमा तनाव चर्किएको छ। घटनापछि इरानले विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण तीव्र पारेको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन्। यही क्रममा United Arab Emirates (युएई) मा एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ।

image_search_1772386086486.jpg

प्राप्त प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा एक नेपालीसहित पाकिस्तानी र बंगलादेशी नागरिक गरी तीन जनाको ज्यान गएको बताइएको छ। मृत्यु भएको स्थान र मृतकको पहिचानबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

क्षेत्रीय अवस्था अस्थिर बन्दै गएपछि Qatar सरकारले देशभर उच्च सतर्कता अपनाएको छ। Qatar Ministry of Defence ले जारी गरेको विज्ञप्तिमा कतारको हवाई क्षेत्रतर्फ लक्षित गरी प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्रहरूलाई अवरोध गरिएको जनाएको छ। सुरक्षा निकाय उच्च तयारी अवस्थामा परिचालित रहेको पनि उल्लेख गरिएको छ।

image_search_1772385902708.jpg

आइतबार बिहान र दिउँसो कतारस्थित अमेरिकी बेस क्याम्पलाई लक्षित गरी दर्जनौँ मिसाइल प्रहार गरिएको जनाइएको छ। अधिकांश मिसाइल आकाशमै निष्क्रिय पारिएको र केही टुक्रा औद्योगिक क्षेत्रमा खसेको बताइएको छ। Qatar Civil Defence का अनुसार खसेका अवशेषबाट उत्पन्न आगो तत्काल नियन्त्रणमा लिइएको र मानवीय क्षति नभएको जानकारी दिइएको छ।

image_search_1772386141013.jpg

सुरक्षा अवस्थाका कारण कतारी हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ। Qatar Airways ले आफ्ना उडान सेवा दोस्रो दिन पनि स्थगित गरेको जनाएको छ। ट्रान्जिट यात्रुहरू विमानस्थल र होटलहरूमा रोकिएका छन् भने नयाँ उडान तालिकाबारे आधिकारिक सूचना पर्खनुपर्ने अवस्था रहेको छ।

यसैबीच Qatar Ministry of Interior का अनुसार आक्रमण सुरु भएयता घाइते हुनेको संख्या १६ पुगेको छ। केही स्थानमा सामान्य भौतिक क्षति भएको उल्लेख गरिएको छ। मन्त्रालयले देशभर सुरक्षा गस्ती र आपत्कालीन टोली परिचालन गरी निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

image_search_1772386263167.jpg

सरकारले सर्वसाधारणलाई अनावश्यक भीडभाड नगर्न, हल्ला–अफवाहमा विश्वास नगर्न र आधिकारिक स्रोतबाट जारी सूचनामात्र पालना गर्न आग्रह गरेको छ। शंकास्पद वस्तु वा अवशेष भेटिएमा नछुन र तत्काल ९९९ नम्बरमा जानकारी गराउन अनुरोध गरिएको छ।

मध्यपूर्वको विकसित परिस्थितिले क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील बनेको छ। सम्बन्धित निकायहरूले संयम, सतर्कता र जिम्मेवार व्यवहार अपनाउन सबैमा अपिल गरेका छन्।