काठमाडौँ । इरानले आइतबार कतारमाथि गरेको मिसाइल आक्रमणमा परी ८ जना घाइते भएका छन्। कतारको गृह मन्त्रालयका अनुसार मिसाइलका छर्राहरू खस्दा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
कतारका गृह मन्त्रालयका जनसम्पर्क प्रमुख अब्दुल्लाह खलिफा अल–मुफ्ताहले टेलिभिजन सम्बोधनमार्फत कतारमा ६६ वटा मिसाइल प्रहार भएको पुष्टि गरेका छन्। उनका अनुसार देशभरका ११४ स्थानबाट मिसाइलका छर्राहरू खसेको रिपोर्ट प्राप्त भएको छ। घटनापछि प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।
यसैबीच, कतारको परराष्ट्र मन्त्रालयले इरानको उक्त कदमको कडा भर्त्सना गरेको छ। मन्त्रालयका जनसम्पर्क प्रमुख इब्राहिम सुल्तान अल–हाशेमीले इरानले बारम्बार कतारलाई निशाना बनाउनु ‘लापरबाहीपूर्ण र गैर जिम्मेवार’ कार्य भएको बताएका छन्। उनका अनुसार इरानको यो सैन्य कदम ‘असल छिमेकीपन’को सिद्धान्त तथा अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको छ। कतारले अन्तर्राष्ट्रिय समुदायसँग घटनाबारे ध्यानाकर्षण गराउँदै आवश्यक कूटनीतिक पहलका लागि आग्रह समेत गरेको जनाएको छ।
