साउदी अरब–कतार बीच उच्चगति विद्युतीय रेल परियोजना अनुमोदन

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क- साउदी अरब, साउदी काउन्सिल अफ मिनिस्टर्सले साउदी अरब र कतार सरकारबीच विद्युतीय उच्चगति रेल लिंक को सम्झौता अनुमोदन गरेको छ। यस बैठकको अध्यक्षता साउदी अरबका दुई पवित्र स्थलका संरक्षक राजा सलमान ले रियाधमा गरेका थिए।

सम्झौता अनुसार, ७८५ किलोमिटर लामो रेल लाइन रियाध र दोहा जोड्नेछ। यसमा प्रमुख स्टेशनहरूमा दम्माम र अल-अहसा समावेश हुनेछन्। नयाँ रेल सेवा सञ्चालनपछि यात्रा समय करिब दुई घण्टामा सीमित हुनेछ, र ट्रेनको गति प्रति घन्टा ३०० किलोमिटरभन्दा बढी हुने जनाइएको छ।

परियोजनाले वार्षिक १० मिलियन यात्रुहरूलाई सेवा दिने र ३०,००० भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार सिर्जना गर्ने अपेक्षा गरिएको छ। यसले साउदी अरब र कतारबीचको आर्थिक, व्यापारिक र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

यो उच्चगति रेल परियोजना क्षेत्रीय यातायात र आवागमनमा क्रान्तिकारी परिवर्तन ल्याउने महत्वपूर्ण कदम मानिएको छ।