नेपाली धनुक सेवा समाज दोहा कतारद्वारा पिकनिक तथा बनभोज कार्यक्रम आयोजना हुँदै
आशिक हुसैन शेख दोहा- कतारमा क्रियाशील सामाजिक संस्था नेपाली धनुक सेवा समाज, दोहा कतार ले प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ पिकनिक तथा बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम १३ फेब्रुअरी २०२६ का दिन समाल मजरा क्षेत्रमा आयोजना हुँदै छ। कार्यक्रममा कतारमा रहेका धनुक समुदायका सदस्यहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा पिकनिक तथा बनभोजसँगै आपसी भेटघाट, मनोरञ्जनात्मक गतिविधि तथा सामाजिक अन्तरक्रिया गरिनेछ। यसले प्रवासमा रहेर पनि समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास आयोजकको रहेको छ।
संस्थाका अध्यक्ष अवधेश मण्डल ले उक्त कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रमले समुदायबीच आपसी समझदारी र सहयोगको भावना विकास गर्न सहयोग पुग्ने बताए। अध्यक्ष मण्डलले उक्त जानकारी महोत्तरी टुडे का पत्रकार आशिक हुसैन शेख लाई दिएका हुन्।
नेपाली धनुक सेवा समाज दोहा कतार सन् २०१६ (स्थापना: २०७३) मा स्थापना भएको सामाजिक संस्था हो। समाजले स्थापना कालदेखि नै सामाजिक सेवा, आपत्–विपत् सहयोग, सांस्कृतिक संरक्षण तथा समुदायहितका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
समाजले सम्पूर्ण सदस्य, परिवारजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ।
