राष्ट्रिय दिवसको अवसरमा यूएईद्वारा २६७ नेपाली कैदीलाई आममाफी
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो ५४औँ राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ। यसप्रति नेपाल सरकारले यूएई सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा यूएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल–यूएईबीचको द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको महत्वपूर्ण उदाहरणका रूपमा उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार पटक–पटक कूटनीतिक पहल तथा अनुरोध गरेपछि यूएई सरकारले उक्त निर्णय लिएको हो।
आममाफी पाएका नेपाली नागरिकहरूमाथि अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको खण्डमा यूएईको प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्किन सक्ने जनाइएको छ।
यूएईमा रोजगारी तथा बसोबास गर्दै आएका नेपाली नागरिकहरूको हकहित संरक्षणका विषयमा नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गर्दै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
