बाग्लुङ सेवा समाज कतारको रक्तदान कार्यक्रम सम्पन्न

महोत्तरी टुडे     

दोहा, कतार- कतारमा क्रियाशील विभिन्न जिल्लासमुदाय संस्था मध्ये उल्लेखनीय पहिचान बनाएको बाग्लुङ सेवा समाज कतारले २०२५ मा आयोजित आफ्नो बृहत रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

समाज तथा बाग्लुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको संयुक्त पहलमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ९० जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए। यस सहभागिताले यो कार्यक्रमलाई समाजको इतिहासमा विशेष महत्व राख्ने गरी सफल बनाएको आयोजकहरूले बताएका छन्।

नेपाली रक्तदाता संघ, कतारको सहयोगमा हमाद अस्पतालमा बिहान ८ बजे अक्षयकोषका अध्यक्ष सन्तोष पौडेलद्वारा प्रारम्भ गरिएको कार्यक्रम मध्यान्हसम्म निरन्तर रूपमा सञ्चालन भएको थियो।

समाजका अध्यक्ष तथा कार्यक्रमका अन्तिम रक्तदाता नीराजन गौतमका अनुसार रक्तदानलाई परोपकारभन्दा धेरै माथि, जीवनरक्षक कार्यका रूपमा हेरी प्रवासमा रगत अभावका कारण कसैले कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो। उनले करिब दुई दर्जनभन्दा बढी इच्छुक सहभागीहरू प्राविधिक कारणले रक्तदान गर्न नपाएको जानकारी पनि दिए।

कार्यक्रममा एनआरएनएका अभियन्ता, व्यवसायी, समाजसेवी, कतारमा रहेका संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि सहित करिब साढे तीन सय नेपाली तथा विदेशी नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।

रक्तदान गर्ने सबै सहभागीहरूलाई समाजले कदरपत्र प्रदान गर्दै हार्दिक धन्यवाद तथा प्रशंसा व्यक्त गरेको छ।