सेवाग्राहीको गुनासो सुनेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा राहदानी सेवा स्पष्ट र सहज
जलेश्वर, महोत्तरी। जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी (पासपोर्ट) वितरण प्रक्रियाबारे सेवाग्राहीबाट आएका गुनासो तथा अन्योललाई सम्बोधन गर्दै सेवा प्रणालीलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ।
कार्यालयले राहदानी बायोमेट्रिक दिने समयमा नै सेवाग्राहीलाई कार्यालयबाटै बुझ्ने वा हुलाकमार्फत घरमै प्राप्त गर्ने विकल्प छनोट गर्न लगाइने व्यवस्था रहेको जनाएको छ। Government Courier Service मार्फत घरमै राहदानी पठाउने सुविधा पनि उपलब्ध रहेको छ।
हुलाकमार्फत राहदानी प्राप्त गर्न इच्छुक सेवाग्राहीले निर्धारित फाराम भर्नुका साथै रु. ५५ बराबरको हुलाक टिकट र खाम बुझाउनुपर्ने व्यवस्था छ। आवेदनमा उल्लेख गरिएको ठेगानामा राहदानी पठाइने व्यवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ।
नेपाल सरकारको शासकीय सुधार सम्बन्धी निर्णयअनुसार लागू गरिएको यस सेवाका लागि छुट्टै फारामसमेत तयार गरिएको छ, जसमा राहदानी कोड नम्बर, नाम, ठेगाना, सम्पर्क नम्बर लगायत विवरण उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ।
यसैबीच, राहदानी वितरण प्रक्रियाबारे केही सेवाग्राहीहरूले अन्योल तथा असहजताको गुनासो गरेका थिए। कार्यालयले भने बायोमेट्रिकका क्रममा नै विकल्पबारे जानकारी दिइएको र सेवाग्राहीले आफ्नो सहजताअनुसार छनोट गर्न सक्ने व्यवस्था रहेको जनाएको छ।
सेवाग्राहीका गुनासा तथा सुझावलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सेवा प्रवाहलाई अझ सरल, छिटो र पारदर्शी बनाउन प्रतिबद्धता जनाएको छ।
यसअघि राहदानी बुझ्न जाँदा केही सेवाग्राहीले “भोलि आउनुहोस्” भन्ने जस्ता अनुभव भएको गुनासो गरेका थिए। तर पछिल्लो व्यवस्थापनपछि प्रक्रिया पूरा भएका सेवाग्राहीलाई राहदानी सहज रूपमा उपलब्ध गराइएको छ।
सेवाग्राहीले कार्यालयले आफ्नो समस्या सुनेर समाधान गरेकोमा धन्यवाद व्यक्त गर्दै सेवा अझ प्रभावकारी र सेवाग्राहीमैत्री होस् भन्ने अपेक्षा राखेका छन्।
