धनगढीका मेयर हमालद्वारा ‘जेनजी मार्ग’ नामाकरण गर्ने घोषणा


महोत्तरी टुडे डेस्क धनगढी — धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ‘जेनजी आन्दोलन’मा शहीद भएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै धनगढीको एक सडकलाई ‘जेनजी मार्ग’ नामाकरण गर्ने घोषणा गरेका छन्।
मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत् पोस्ट गर्दै भाद्र २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका वीर आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त सडक नामाकरणको प्रस्ताव कार्यपालिका बैठकमा लैजाने जानकारी दिएका हुन्।
उनले लेखेका छन् —
> “जेनजी आन्दोलनमा शहीद हुनु भएका सम्पूर्ण वीर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । तपाईंहरूको बलिदान केवल इतिहासको पानामा मात्र सीमित नभई यो देशका प्रत्येक युवाको मुटुमा दीप बनेर जलिरहनेछ । न्याय, अधिकार र परिवर्तनका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने तपाईंहरूको साहस हामी सबैका लागि प्रेरणाको ज्योति बनेर सधैँ चम्किरहनेछ ।”
उनका अनुसार धनगढी–१ स्थित जोशी मेडिकल भएको चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोडसम्म फैलिएको सडकलाई ‘जेनजी मार्ग’ नामाकरण गर्न प्रस्ताव कार्यपालिका बैठकमा पेस गरिनेछ। साथै, नगरवासीलाई पनि सो क्षेत्रमा ‘जेनजी मार्ग’ नाम प्रयोग गर्न अपील गरिएको छ।