अमेरिकी नागरिकलाई मध्यपूर्वका १५ देशबाट तत्काल बाहिरिन आग्रह
दोहा कतार- कतारस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल ती देशहरू छोड्न निर्देशन दिएको छ।
कन्सुलर मामिलाकी सहायक सचिव मोरा नामदारका अनुसार अमेरिकी नागरिकहरूले उपलब्ध व्यावसायिक उडान वा अन्य सुरक्षित माध्यम प्रयोग गरी बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनबाट सुरक्षित रूपमा बाहिरिनु पर्नेछ।
विदेश मन्त्रालयले जनाएको छ कि इरानमाथि भइरहेको आक्रमणको तीव्रता र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युको खबरपछि यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ।
अमेरिकी सरकारले आफ्ना नागरिकको सुरक्षालाई ध्यानमा राख्दै उक्त ट्राभल एडभाइजरी जारी गरेको जनाएको छ र सबैलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अफवाह फैलाउनबाट बच्न आग्रह गरेको छ।
