अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार द्वारा बृहत् ईफ्तार कार्यक्रम सम्पन्न।
आशिक हुसैन शेख दोहा कतार- अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको आयोजनामा पवित्र रमजान महिनाको अवसर पारेर दोहास्थित मुन्तजामा रहेको गोरखाली रेस्टुरेन्टको सभाहलमा बृहत् इफ्तार कार्यक्रम श्रद्धा, सद्भाव र धार्मिक सहिष्णुताको सन्देशसहित सम्पन्न भएको छ।

इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्र महिना रमजानको अवसरमा आयोजित उक्त कार्यक्रम कुरआन तिलावतबाट सुरु गरिएको थियो। मौलाना जनाव मो० गुलाम रिजवीले गरेको तिलावतले कार्यक्रममा आध्यात्मिक वातावरण सिर्जना गरेको थियो। समाजका अध्यक्ष अजमत अलीको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष एवं वर्तमान कार्यसमितिका संरक्षक मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। संस्थाका संरक्षक मो० शाकिरा अलीले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पाल्पाली सेवा समाज कतारका अध्यक्ष बिक्कि गरैले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रदेश समन्वय परिषद् अन्तर्गत मधेश प्रदेशका अध्यक्ष कलाम हुसैन खानले स्वागत मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमले समुदायबीच सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गरे।

धर्मगुरु इसहाक अलीले रमजान महिनाको महत्वबारे नेपाली भाषा प्रकाश पार्दै रोजाको वास्तविक अर्थ र उद्देश्य स्पष्ट पार्नुभयो। उहाँका अनुसार रोजा केवल भोक र प्यास सहनु मात्र नभई आत्मसंयम, आत्मशुद्धि र अल्लाहप्रति समर्पणको अभ्यास हो। रोजाले मानिसलाई गलत कार्य, कुविचार र कुकर्मबाट टाढा राख्दै सदाचार, धैर्यता र सहनशीलताको शिक्षा दिन्छ। रमजान प्रतीक्षा, क्षमा, दान र प्रतिदानको महिना भएको उल्लेख गर्दै यस महिनामा गरिने प्रत्येक सुकर्मको प्रतिफल अन्य समयभन्दा धेरै गुणा बढी हुने इस्लाम धर्ममा विश्वास रहेको बताउनुभयो।

उहाँले हरेक बालिग तथा समझदार मुस्लिम पुरुष र महिलामाथि रोजा अनिवार्य रहेको जानकारी दिँदै वृद्धवृद्धा, दीर्घरोगी, अशक्त, यात्रामा रहेका व्यक्ति, गर्भवती, रजस्वला, सुत्केरी वा स्तनपान गराइरहेका महिलाहरूलाई छुट दिइएको स्पष्ट पार्नुभयो। रोजाको मूल उद्देश्य मानिसभित्र अल्लाहको भय, नैतिक अनुशासन र सामाजिक उत्तरदायित्वको भावना जागृत गराउनु रहेको उहाँको भनाइ थियो।

प्रमुख अतिथि मुक्तदाले कतारमा बसोबास गर्ने नेपाली मुस्लिम समुदायलाई स्थानीय कानुनको पालना गर्न तथा नेपाल र कतार दुवै देशमा धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गर्नुभयो। उहाँले इफ्तारजस्ता कार्यक्रमले समुदायबीच एकता, भाइचारा र सकारात्मक सोच अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै मौलाना मो० शौकत अलिले पनि अरेबिक भाषा र अङ्ग्रेजी भाषामा अनुवाद गरेका थिए।समाजका संरक्षक मो० शाकीर अलीले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अतिथि, मौलाना, गुरुजन तथा संघ–संस्थाका प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको सहजीकरण का.महासचिव मौलाना नजिर मियाँले गर्नुभएको थियो भने समापन मन्तव्य दिँदै सभाध्यक्ष अजमत अलीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

इफ्तार कार्यक्रमले रमजान महिनाको आध्यात्मिक महत्व उजागर गर्दै नेपाली मुस्लिम समुदायबीच एकता, सहयोग, सहिष्णुता र सद्भावको सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

