राष्ट्रिय मुस्लिम परिषद नेपालद्वारा दोहामा बृहत् इफ्तार कार्यक्रम सम्पन्न।
आशिक हुसैन शेख दोहा कतार- राष्ट्रिय मुस्लिम परिषद नेपाल को आयोजनामा पवित्र रमजान महिनाको अवसरमा कतारको दोहा मुन्ताजामा बृहत् इफ्तार कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

दोहा मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्ट को सभा हलमा आयोजित कार्यक्रम मौलाना शौकत अलीद्वारा पवित्र कुरआनको तिलावत गरी शुभारम्भ गरिएको थियो। त्यसपछि नेपाली राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा संयुक्त रूपमा ब्यानर अनावरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार का अध्यक्ष श्री कृष्ण पन्थीले आफ्नो मन्तव्य राख्दै आफू पनि पवित्र कुरआन अध्ययन गरिरहेको र अझै राम्रोसँग अध्ययन गर्न बाँकी रहेको बताउनुभयो। उहाँले धार्मिक ग्रन्थहरूको अध्ययनले सकारात्मक सोच, नैतिकता र सहिष्णुता विकास गर्ने उल्लेख गर्दै सबै धर्मप्रति सम्मानभाव आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका उद्घोषक अजाद मन्सुर रहनुभएको थियो भने विभिन्न मौलानाहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली महिला समाज कतार की उपाध्यक्ष सांध्या आर्यालसहित विभिन्न प्रदेशका प्रतिनिधिहरू, वैचारिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, जिल्ला संस्थाका पदाधिकारीहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा उल्लेखनीय संख्यामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।

अजानपछि सहभागीहरूले सामूहिक रूपमा रोजा खोलेका थिए। इफ्तार पश्चात् आपसी शुभकामना आदान–प्रदान गरिएको थियो। कार्यक्रमका सभापति असलम राइनले समापन मन्तव्य व्यक्त गर्दै सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो र कार्यक्रम समाप्तिको घोषणा गर्नुभएको थियो।

आयोजक संस्थाले यस्ता कार्यक्रमहरूले धार्मिक सहिष्णुता, आपसी सद्भाव र प्रवासी नेपाली समुदायबीच एकता सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।







