महोत्तरीमा मदिरा बिक्री–वितरण र डीजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध।
जलेश्वर, महोत्तरी। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी ले मदिरा बिक्री–वितरण तथा डीजे (DJ) साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको दुई छुट्टाछुट्टै सूचनाअनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय गरिएको हो।
मदिरा बिक्री–वितरण पूर्ण निषेध

सूचनाअनुसार मतदान हुने दिनभन्दा ७ दिन अगाडिदेखि अर्थात् २०८२ साल फागुन १४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने र सुरक्षा निकायबाट नियमित अनुगमन गरिने जनाइएको छ।
डीजे साउण्ड सिस्टम प्रयोगमा रोक

त्यसैगरी, निर्वाचन प्रचार–प्रसारका क्रममा ठूलो आवाजमा बजाइने डीजे (DJ) साउण्ड सिस्टमका कारण ध्वनि प्रदूषण बढ्नुका साथै विद्यार्थीको अध्ययन, जेष्ठ नागरिक र बिरामीको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै प्रशासनले २०८२ साल फागुन १० गतेदेखि अर्को सूचना जारी नभएसम्म जिल्लाभर कुनै पनि सार्वजनिक स्थान, जुलुस वा सभामा डीजे साउण्ड सिस्टम, ठूला लाउडस्पीकर तथा ध्वनि प्रदूषण हुने उपकरण प्रयोग गर्न रोक लगाएको छ। उल्लङ्घन गरेमा उपकरण जफत गरी कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार, होटल व्यवसायी, नागरिक समाज तथा सर्वसाधारणसँग पूर्ण सहयोगको अपेक्षा गरेको छ।
