रमजानको पवित्र महिनामा मधेश प्रदेश कतारद्वारा वृहत् इफ्तार कार्यक्रम सम्पन्न
आशिक हुसैन शेख, दोहा–कतार।
पवित्र रमजान महिनाको अवसर पारेर मधेश प्रदेश समन्वय परिषद् कतारद्वारा वृहत् इफ्तार कार्यक्रम सम्पन्न गरिएको छ। इस्लाम धर्मावलम्बीहरूको महान् महिना रमजान आत्मशुद्धि, संयम, दया, परोपकार र आपसी सद्भावको सन्देश बोकेको महिना हो। मुस्लिम समुदायले यस महिनामा बिहानदेखि साँझसम्म रोजा (व्रत) बस्ने, नमाज पढ्ने, दान–पुण्य गर्ने तथा गरिब–दुःखीप्रति सहयोग गर्ने धार्मिक कर्तव्यहरू पूरा गर्दछन्। रमजानले समाजमा सहिष्णुता, अनुशासन र भाईचाराको भावना सुदृढ बनाउने विश्वास गरिन्छ।

शुक्रबार साँझ दोहा मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा परिषद्का अध्यक्ष मोहम्मद कलाम हुसैन खानको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। दोहामा स्थापित विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, मुस्लिम समुदायका रोजेदार (व्रतालु) लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात मौलाना मोहम्मद गुलाब नबमी रजवीद्वारा पवित्र कुरआनको तिलावतबाट गरिएको थियो भने त्यसपछि नेपाली राष्ट्रिय गान प्रस्तुत गरी औपचारिक कार्यक्रम अगाडि बढाइएको थियो। कार्यक्रममा धर्मगुरु मौलाना नदवी र मौलाना सौकतले रमजान महिनाको महत्व, रोजाको आध्यात्मिक लाभ तथा मानव जीवनमा यसको सकारात्मक प्रभावबारे प्रवचन दिएका थिए।

इफ्तारको समयमा रोजेदारहरूलाई विभिन्न परिकारसहित रोजा खोल्ने व्यवस्था गरिएको थियो। प्रमुख अतिथि पन्थीले यस्ता कार्यक्रमहरूले नेपालका विविध समुदायबीचको आपसी सद्भाव, एकता र भाईचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य दिनुभयो।

यस अवसरमा मधेशी एकता समाज कतार तथा मधेश प्रदेश मातहतका सबै जिल्ला संस्थाहरूको समेत सक्रिय सहभागिता र सहकार्य रहेको थियो। संयुक्त पहलमा आयोजना गरिएको उक्त कार्यक्रमले प्रवासमा रहेका मधेशी तथा सम्पूर्ण नेपाली समुदायबीच आपसी एकता, सहयोग र सद्भावको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष दुर्गानन्द पासवानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सभापति खानले समापन मन्तव्यका क्रममा रमजानले सम्पूर्ण नेपाली समुदायबीच माया, सद्भाव र सहिष्णुता अझ सुदृढ होस् भन्ने कामना गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागिहरूप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण संस्थाका कार्यवाहक महासचिव जीवन न्यौपानेले गर्नुभएको थियो।

यस प्रकार रमजानको पावन अवसरमा सम्पन्न उक्त इफ्तार कार्यक्रमले धार्मिक आस्थासँगै सामाजिक एकता र भाईचाराको भावना अझ बलियो बनाएको विश्वास गरिएको छ।



