सप्तरी सेवा समाज कतारद्वारा गम्भीर बिरामी यासमिन खातुनलाई ३१,३०० रुपैयाँ आर्थिक सहयोग।
आशिक हुसैन शेख, दोहा, कतार – गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी यासमिन खातुनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सप्तरी सेवा समाज कतार ले ३१,३०० (एकतीस हजार तीन सय) नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बिरामी पक्षको उपचार खर्च जुटाउन कठिनाइ भइरहेको जानकारी पाएपछि संस्थाका अध्यक्ष अन्वारूल हक को विशेष पहलमा सहयोग रकम संकलन गरिएको थियो। संकलित सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम हालै सम्पन्न भएको थियो।
हस्तान्तरण कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरू तथा स्थानीय नेपाली समुदायका प्रतिनिधिहरू उपस्थित थिए। अध्यक्ष हकले सो अवसरमा आफ्नो सम्बोधनमा भने, “प्रवासमा रहेर पनि मातृभूमिका नागरिकप्रति उत्तरदायित्व निभाउनु हाम्रो सामाजिक दायित्व हो। संकटको समयमा सबैले एकअर्कालाई साथ दिनु नै वास्तविक मानवीय मूल्य हो।” उहाँले समाजको मूल उद्देश्य नै मानव सेवा र समुदायको भलाइमा योगदान पुर्याउनु रहेको बताउनुभयो।
यासमिन खातुनलाई प्रदान गरिएको आर्थिक सहयोगले उनको उपचारमा तत्काल राहत पुर्याउने विश्वास व्यक्त गरिएको छ। समाजका पदाधिकारीहरूले समुदायभित्र आपसी सहयोग र एकता बढाउन यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सप्तरी सेवा समाज कतार: संस्था परिचय र योगदान
सप्तरी सेवा समाज कतार कतारमा सक्रिय सामाजिक संस्था हो, जसको मुख्य उद्देश्य प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र सद्भावको भावना अभिवृद्धि गर्नु हो।
संस्थाले स्थापना कालदेखि नै स्वास्थ्य, शिक्षा, सांस्कृतिक कार्यक्रम, विपद् राहत र आपतकालीन आर्थिक सहायता जस्ता क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। विशेषगरी प्रवासी नेपालीहरूको जीवनस्तर सुधार्ने, युवाहरूलाई नेतृत्व विकास र महिला सशक्तिकरण कार्यक्रममार्फत समाजमा सकरात्मक परिवर्तन ल्याउने लक्ष्य संस्था राख्दछ।
संस्थाका सदस्यहरूले समुदायभित्र सहकार्य, आपसी सम्मान र सामाजिक उत्तरदायित्वको भावना फैलाउने काम निरन्तर गर्दै आएका छन्। संकटमा परेका परिवार र व्यक्तिहरूलाई तत्काल आर्थिक, सामाजिक र नैतिक सहयोग पुर्याउनु यस संस्थाको विशेष कार्य क्षेत्र हो।
संस्थाले भविष्यमा पनि सामाजिक जिम्मेवारीमा सक्रिय रहँदै यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसले प्रवासी नेपाली समुदायभित्र सामाजिक मेलमिलाप र एकता मजबुत बनाउने प्रयासलाई थप बल प्रदान गरेको छ।
