सनसनीपूर्ण खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित
महोत्तरी टुडे डेस्क- नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को सनसनीपूर्ण आफ्नो पहिलो खेलमा दुईपटकको च्याम्पियन इंग्ल्यान्डसँग चार रनले पराजित भएको छ।
आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८५ रनको लक्ष्य प्रस्तुत गर्याे। इंग्ल्यान्डको इनिङ्समा ज्याकोव बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतक बनाएका थिए। प्रत्युत्तरमा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदा १८० रन बनायो।
पावर प्लेमा नेपालले दुई विकेट लिन सफल भएको थियो। तर, इंग्ल्यान्डले भने अर्कोतर्फबाट आक्रामक ब्याटिङ गर्दै ५७ रन बनायो। पावर प्लेपछि पनि इंग्ल्यान्डले दमदार ब्याटिङ गर्दै बलियो स्कोर खडा गर्न सफल भयो। यता, नेपालले पनि सानदार सुरुवात गरेको थियो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले तीन ओभरमै ३१ नर जोड्दै इंग्ल्यान्डका बलरलाई दबाबमा राखेका थिए।
त्यसपछि कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीबिच ८२ रनको बलियो साझेदारी भयो। तर, त्यसपछि पुनः लोकेश बलले उत्कृष्ट प्रदर्शन जारी राख्दै इंग्ल्यान्डलाई दबाबमा राखेका थिए। अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा नेपालले पूरा गर्न नसक्दा नेपाल टेस्ट राष्ट्रविरुद्धको पहिलो भेटमा पराजित भयो।
समूह ‘सी’मा दुवै टोलीको पहिलो खेल हो। समूहमा नेपालसहित वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन्। यो जितपछि इंग्ल्यान्डले दुई अंक जोडेको छ।
नेपाली क्रिकेटले अहिलेसम्म सामना गरेको बलियो प्रतिद्वन्द्वी थियो इंग्ल्यान्ड। नेपाल र इंग्ल्यान्ड पहिलोपटक कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुुन्। यो प्रतिस्पर्धालाई टेस्ट राष्ट्र र एसोसिएट राष्ट्रबिचको लडाइँको रूपमा पनि हेरिएको थियो। पछिल्लो समय नेपालले टेस्ट राष्ट्र भारत, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध खेलिसकेको छ।
हाल टी–२० वरीयतमा इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ। नेपाल भने १६औँ स्थानमा छ। इंग्ल्यान्डसँगकाे प्रतिस्पर्धासँगै नेपालले वानखेडे रंगशालामा डेब्यु गरेको छ।
प्रशिक्षक स्टुआर्ट लले इंग्ल्यान्डविरुद्ध कप्तान रोहितसँगै गुल्सन झा, कुशल भुर्तेल, आसिफ शेख, करण केसी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछानेलाई अवसर दिएका थिए।
दोस्रो इनिङ्समा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा ६ चौका र एक छक्कासहित ४४ रन बनाए। उनले तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेलसँग ५४ बलमा ८२ रनको साझेदारी गरेका थिए। १४.२ ओभरमा दीपेन्द्रलाई साम करनले टम ब्यान्टनबाट क्याच गराएका थिए। ५.२ ओभरमा कुशल भुर्तेल ४२ रन बनाएर आउट भएपछि रोहित र दीपेन्द्रले नेपाललाई १२४ रनसम्म डोहोर्याएका थिए। रोहित पनि ३४ बलमा ३९ रन बनाएर आउट भए। समान दुई चौका र छक्का प्रहार गरेका रोहितलाई लिआम डावसनले फिल साल्टबाट क्याच गराएका थिए।
ओपनर कुशल भुर्तेलले १७ बलमा चार चौका र एक छक्कासहित २९ रन बनाएका थिए। छैटौँ नम्बर क्रिजमा आएका लोकेश बमले २० बलमा चार चौका र दुई छक्कासहित अविजित ३९ रन बनाए। यसअघि आसिफ शेखले मात्र सात रन बनाए। आरिफ शेखले १० रन जोडे। आशा गरिएका गुल्सन झा मात्र दुई बलमा एक रन बनाएर गए।
इंग्ल्यान्डका लिआम डावसनले दुई तथा लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र सम करनले समान एक विकेट लिए।
बेथेलले चौथो विकेटका लागि कप्तान ह्यारी ब्रुकसँग ४५ बलमा सर्वाधिक ७१ रनको साझेदारी गरेका थिए। कप्तान ह्यारीले ३२ बलमा ५३ रन बनाए। यसअघि उनले ३१ बलमा चार चौका र तीन छक्कासहित अर्धशतक बनाएका थिए। अर्धशतक बनाएको अर्को बलमै उनी नन्दन यादवको बलमा डेब्यु खेलाडी शेर मल्लको हातबाट क्याचआउट भएका थिए। पहिलोपटक विश्वकप खेलिरहेका नन्दनले पहिलो खेलमै दुई विकेट लिए।
त्यस्तै, ओपनर जस बट्लरले २६ रनको योगदान गरेका थिए। विल ज्याक्सले अविजित १८ बलमा ३९ रन बनाए। उनले एक चौका र चार छक्का हिर्काएका थिए।
यसअघि शेर मल्लले डेब्यु बलमै विकेट लिए। दोस्रो ओभरको पहिलो बलमै उनले मात्र एक रन जोडेका फिल साल्डको विकेट सन्दीप लामिछानेबाट क्याच गराउँदै लिएका थिए। तेस्रो विश्वकपमा नेपालले पहिलो विकेट नै शेरको हातबाट पायो। शेर दोस्रो नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टिममा स्थान बनाउन सफल भएका थिए। शेरले आफ्नो पहिलो ओभरमा एक विकेट लिएर १४ रन खर्चिए।
दोस्रो विकेटको रूपमा नन्दन यादवले जस बट्लरलाई पेभिलियन फर्काए। उनले अनुभवी बट्लरलाई विकेटकिपर आरिफ शेखबाट क्याच गराएका हुन्। बट्लर १७ बलमा पाँच चौकासहित २६ रन हाने। नन्दनले पाँचौँ ओभरमा एक विकेट लिँदा मात्र पाँच रन दिए। पाँच ओभर इंग्ल्यान्डले मात्र ४४ रन जोडेको थियो।
इंग्ल्यान्डका लागि बेथेलले सर्वाधिक ५५ रन बनाएका थिए। ३५ बलमा समान चार चौका र छक्का हिर्काएका बेथेललाई दीपेन्द्रसिंह ऐरीले लोकेश बमबाट क्याच गराए। यसअघि २२ वर्षीय बायाँहाते ब्याटरले २८ बलमा समान चार चौका र छक्कासहित अर्धशतक बनाएका हुन्।
खेलको तेस्रो विकेट सन्दीप लामिछानेको नाममा रह्यो। सन्दीपले टम ब्यान्टनलाई दुई रन बनाउँदा एलबिडब्लू धरापमा पारेका थिए। सातौँ ओभर लिएका आएका उनले आफ्नो पहिलो बलमै ब्यान्टनको विकेट लिएका हुन्।
पाँचौँ विकेटको रूपमा साम करनलाई दीपेन्द्रले १५.३ ओभरमा आउट गरे। करनले मात्र दुई रन जोडे। जोफ्रा आर्चरले एक रन जोडे।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र नन्दनले समान दुई विकेट लिए। राष्ट्रिय टिमबाट डेब्यु गरेका शेर र सन्दीपले समान एक विकेट लिएका थिए। करण केसी र कुशल भुर्तेल भने विकेटविहीन भएका थिए।
