सम्झौता कार्यान्वयन नभएको आरोप, जेनजी संयोजकद्वारा गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक
काठमाडौं । जेनजी जनादेश सम्माननीय प्रधानमन्त्रीबाट हस्ताक्षर भई राजपत्रमा प्रकाशित भइसके पनि सम्माननीय राष्ट्रपतिबाट हस्ताक्षरमा ढिलाइ भइरहेको भन्दै द काउन्सिल अफ जेन जेड (Gen Z) ले सरकारप्रति गम्भीर असन्तुष्टि जनाएको छ।
जेनजी र सरकारपक्षबीच भ्रष्टाचार तथा हत्या जस्ता गम्भीर अपराधमा संलग्नलाई छानबिन र कारबाहीको दायरामा ल्याउने सम्झौता भएको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको आरोप लगाइएको छ। उल्टै भाद्र २३/२४ को घटनालाई आधार बनाएर जेनजी आन्दोलनमा सहभागीहरूविरुद्ध झुटा अभद्र मुद्दा चलाइएको र पक्राउ गर्ने क्रम नरोकिएको जेनजीको दाबी छ।
द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारसँग सम्झौता भइसके पनि प्रहरीले आन्दोलनकारीविरुद्ध मुद्दा चलाउने क्रम नरोकेको भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार पीडित पक्षका परिवारलाई पटक–पटक रिहाइका लागि सहयोग गरिए पनि मुद्दा र धरौटीका कारण उनीहरू अझै रिहा हुन सकेका छैनन्।
यसैक्रममा संयोजक गुरुङले गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गर्दै अब आन्दोलनसँग सम्बन्धित रिहाइ, मुद्दा तथा धरौटीका विषयमा सरकार र सुरक्षा निकाय स्वयं जिम्मेवार हुनुपर्ने बताएका छन्। उनले पीडित परिवारलाई गृहमन्त्री, स्वकीय सचिव तथा गृहसचिवसँग प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेका छन्।
यस विषयमा गृह मन्त्रालय वा प्रहरी पक्षबाट भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
