हाइवे ह्याकर्स “ऐसी बस” सेवा कृष्णनगरमा उद्घाटन

महोत्तरी टुडे     

कृष्णनगर, कपिलवस्तु, असोज २६-

कपिलवस्तुको कृष्णनगरमा आज एक विशेष समारोहबीच हाइवे ह्याकर्स ऐसी बस सेवाको औपचारिक उद्घाटन गरिएको छ। नगरप्रमुख रजत प्रताप शाहले रिबन काटी सेवाको शुभारम्भ गर्नुभयो।

 

कृष्णनगर–काठमाडौं र काठमाडौं–कृष्णनगरबीच सञ्चालन हुने यो आधुनिक नाइट बस सेवा आजदेखि नियमित रूपमा सञ्चालनमा आएको हो। बसका प्रोप्राइटर मोती उपाध्यायले यात्रुहरूको सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै सेवा सुरु गरिएको बताए।

 

कार्यक्रममा पश्चिमाञ्चल बस व्यवसायी संघ कृष्णनगरका प्रतिनिधि निर्मल पराजुलीले बस संघमा दर्ता भई आजदेखि नाइट बस सञ्चालनमा आएको जानकारी गराए।

 

मुख्य अतिथि नगरप्रमुख शाहले आधुनिक सुविधासहितको बस सञ्चालन भएकोमा हाइवे ह्याकर्स टिमलाई बधाई दिँदै भने, “यो सेवाले कृष्णनगर र आसपासका यात्रुहरूलाई काठमाडौं आवतजावतमा सहजता र आराम प्रदान गर्नेछ।”

 

उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, जावेद आलम खाँ, शाहिद खाँ, सशस्त्र प्रहरीका डिएसपी तुला बहादुर चौधरी, तोफेल खाँ, पिन्टु श्रीवास्तव, उपाध्यक्ष रविन्द्र गुप्ता, होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरे लगायत स्थानीय व्यवसायी, संघ–संस्थाका प्रतिनिधि र सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति थियो।