हुलाकी राजमार्गको औरही नगरपालिका- शेरहा बैरिया सडकको अवस्था अत्यन्त नाजुक, स्थानीय आक्रोशित

महोत्तरी टुडे     

नरेन्द्र महतो,महोत्तरी, असोज २६ गते-

हुलाकी राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको औरही नगरपालिका हुँदै शेरहा वैरिया जोड्ने सडक खण्डको अवस्था चार वर्षदेखि अत्यन्तै नाजुक बनेको छ। लामो समयदेखि मर्मत–सम्भार नहुँदा दैनिक आवतजावत गर्ने स्थानीय बासिन्दा, विद्यार्थी र सवारी चालकहरूले ठूलो सास्ती बेहोर्दै आएका छन्।

 

स्थानियवासीहरूका अनुसार वर्षेनी धुलो र हिलोको समस्या झन् बढ्दै गएको छ। वर्षायाममा सडक हिलोमय बन्ने र सुक्खा मौसममा धुलोका कारण सास फेर्नसमेत कठिन हुने अवस्था आएको छ।

 

‘चार वर्षदेखि मन्त्रीहरू भाषण मात्रै गर्छन्, काम गर्दैनन्,’ स्थानीय रामलाल यादव भन्छन्, ‘तीन–तीन सरकार फेरिए तर यो बाटो मर्मत गर्ने कुनैले पहल गरेन।’

 

विगतका स्थानीय, प्रदेश र संघीय निर्वाचनमा जसपा, एमाले र कांग्रेसका उम्मेदवारहरूले “सडक सुधारका लागि बजेट ल्याएको” भन्दै आश्वासन दिएका थिए। तर स्थानीयका भनाइमा बजेटका कागजी घोषणाबाहेक कुनै ठोस काम भएको छैन।

 

‘हामीलाई झुटा आश्वासन दिएर नेताहरूले मत मागे,’ अर्का स्थानीय देवीशंकर साह भन्छन्, ‘अब आउने चुनावमा जनताले पनि बाटो देखाइदिनेछन्।’

 

सडकको अवस्था बिग्रँदा एम्बुलेन्स, विद्यालय जाने विद्यार्थी, किसान र व्यापारी सबैले दैनिक समस्या भोगिरहेका छन्। स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय र प्रदेश सरकारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस पहल भएको छैन।

 

स्थानीयहरूले अब तत्काल सडक मर्मत र दीर्घकालीन सुधार योजनाको माग गर्दै आन्दोलनको चेतावनी समेत दिएका छन्।