युएई लाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनोट भएको हो।


काठमाडौँ —नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।
बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि कप्तान इन्दू वर्माले अविजित सर्वाधिक ३० रन बनाइन् । उनको कप्तानी इनिङ्समा नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउन सक्यो । यस्तै रुविना क्षेत्रीले २३ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन् ।
यूएईका तर्फबाट बलिङमा इसा रोहित ओजा, एस कोटे र वैष्णवी महिसले एक/एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।
यूएईका लागि इसा रोहित ओजाले सर्वाधिक ३९ रन बनाइन् । यस्तै त्रीथा सतिशले २१, हीना हरिस होचन्दानीले २० र लाभण्या केनीले १२ रन बनाइन् ।