कतारमा प्रवासी नेपाली मञ्चको रक्तदान अभियानमा १५२ जनाले गरे रक्तदान

महोत्तरी टुडे     

आशिक हुसैन शेख | दोहा, कतार ।

प्रवासी नेपाली मञ्च कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा शुक्रबार कतारको हमाद अस्पतालस्थित ब्लड डोनेसन सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका छन्। आयोजकका अनुसार कतारमा नेपाली तथा अन्य सामाजिक संघसंस्थाले आयोजना गरेका रक्तदान कार्यक्रममध्ये यो संख्या हालसम्मकै उच्च हो। यसअघि यस्तै कार्यक्रममा १४३ जनाले रक्तदान गरेको रेकर्ड थियो।

FB_IMG_1791576833738.jpg

बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा कतारमा रहेका नेपालीसहित विभिन्न देशका नागरिक गरी करिब ५०० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याएका थिए।

 

प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष अफसर अलि खानले वैचारिक भिन्नता भए पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा नेपाली समुदाय एकजुट हुनुपर्ने बताए। उनले रक्तदानजस्ता कार्यक्रमले सामाजिक एकता, भाइचारा र आपसी सद्भावलाई बलियो बनाउने उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने हमाद अस्पतालका स्वास्थ्यकर्मी तथा सहयोगीप्रति आभार व्यक्त गरे।

 

मञ्चका सचिव रघुनाथ शर्माले नेपाली तथा गैरनेपाली नागरिकको उल्लेख्य सहभागिताले रक्तदान जाति, धर्म र राष्ट्रियताभन्दा माथि रहेको साझा मानवीय अभियान भएको सन्देश दिएको बताए।

 

कार्यक्रममा रक्तदान गर्ने दाताहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। नेपाली रक्तदाता संघ कतारका कार्यवाहक अध्यक्ष सन्तोष पौडेलले रक्तदान गरेसँगै सुरु भएको कार्यक्रम मञ्चका सचिव रघुनाथ शर्माले रक्तदान गरेपछि समापन भएको थियो।

 

नेकपा एमालेको प्रवास संगठनका रूपमा सक्रिय प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको यस अभियानले कतारमा नेपाली समुदायको सामाजिक योगदान, मानवीय सेवाप्रतिको प्रतिबद्धता र सकारात्मक पहिचानलाई थप उचाइमा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।