थारु कल्याणकारिणी सभा महिला विभागद्वारा जितिया पर्व कार्यक्रम आयोजना हुँदै

आशिक हुसैन शेख     

दोहा, कतार । थारु कल्याणकारिणी सभा, कतार च्याप्टर, दोहा–कतारको महिला विभागको आयोजनामा ‘जितिया पर्व कार्यक्रम २०२६’ आयोजना हुने भएको छ।

 

थारु समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाइने जितिया पर्वको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा थारु समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै आपसी एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

 

कार्यक्रममा थारु समुदायका मौलिक संस्कृति, भेषभूषा, कला तथा परम्परासँग सम्बन्धित विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत प्रस्तुत गरिने जनाइएको छ। साथै कार्यक्रममा थारु समुदायको मौलिक पहिचान र परम्परालाई नयाँ पुस्तामाझ चिनाउने तथा प्रवासी भूमिमा आफ्नो संस्कृतिको निरन्तरताका विषयमा समेत जोड दिइने बताइएको छ।

 

कतारमा रोजगारी तथा विभिन्न पेशा व्यवसायमा आबद्ध भएर बस्दै आएका थारु समुदायका सदस्यहरूलाई एकै ठाउँमा भेला गराई आपसी परिचय, भाइचारा र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रम २०२६ अक्टोबर २ तारिख शुक्रबार बिहान ११ बजेदेखि कतारको मेस क्याफे, प्लाजा मल, कतारमा आयोजना हुनेछ।

 

थारु कल्याणकारिणी सभा, कतार च्याप्टरले जितिया पर्वलाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई थारु समुदायको मौलिक पहिचान, संस्कृति, भाषा, परम्परा र सामाजिक एकतालाई जोगाउँदै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको सभापति भगवती प्रसाद चौधरीले जानकारी दिएको छ।

 

प्रवासी भूमिमा विभिन्न समुदायका मानिसहरूबीच आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ। विशेषगरी नयाँ पुस्ताका बालबालिका तथा युवाहरूलाई आफ्नो समुदायको इतिहास, संस्कार, संस्कृति र परम्पराबारे जानकारी गराउने अवसरका रूपमा पनि कार्यक्रमलाई लिइएको छ।

 

कार्यक्रममा कतारमा रहेका थारु समुदायका विभिन्न व्यक्ति, सामाजिक अभियन्ता, संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले कार्यक्रममा सहभागी भई जितिया पर्वको सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै कार्यक्रम सफल बनाउन कतारमा रहेका सम्पूर्ण थारु समुदाय तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ।

 

थारु कल्याणकारिणी सभा, कतार च्याप्टरले ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै समुदायको सामाजिक तथा सांस्कृतिक विकासका गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।