सम्सी गाउँपालिकाको कार्यालय सार्ने निर्णयप्रति रास्वपाको विरोध, प्रेस विज्ञप्ति जारी

महोत्तरी टुडे     

सम्सी महोत्तरी । सम्सी गाउँपालिकाको कार्यालय अन्यत्र सार्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सम्सी गाउँपालिका कमिटीले आपत्ति जनाउँदै निर्णय पुनर्विचार गर्न माग गरेको छ।

 

रास्वपा सम्सी गाउँपालिकाका सभापति मो. मोहम्मद रफिले जारी गरेको प्रेस विज्ञप्तिमा गाउँपालिकाको कार्यालय हाल सम्सी बजारबाट श्री जनता माध्यमिक विद्यालयको नवनिर्मित भवनमा सार्ने प्रक्रिया अघि बढाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

 

विज्ञप्तिमा गाउँपालिकाको कार्यालय विद्यालयको नवनिर्मित भवनमा सारिँदा विद्यालयको शैक्षिक वातावरणमा प्रतिकूल असर पर्न सक्ने उल्लेख गरिएको छ। कार्यालय सञ्चालनका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठन प्रभावित हुन सक्ने तथा विद्यालयको नियमित शैक्षिक गतिविधिमा समेत समस्या उत्पन्न हुनसक्ने रास्वपाको भनाइ छ।

 

त्यस्तै, गाउँपालिकाको कार्यालय आम नागरिकले सहज रूपमा सेवा लिन सक्ने स्थानमा हुनुपर्नेमा कार्यालय अन्यत्र सार्दा सेवाग्राहीलाई समेत असुविधा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। विशेषगरी गाउँपालिकाबाट विभिन्न प्रशासनिक तथा सरकारी सेवा लिन आउने सर्वसाधारणलाई कार्यालयको स्थान परिवर्तनले थप समस्या पर्न सक्ने भन्दै निर्णयप्रति आपत्ति जनाइएको हो।

 

रास्वपा सम्सीले शैक्षिक संस्था र स्थानीय सरकारको कार्यालय सञ्चालनको उद्देश्य तथा आवश्यकतालाई फरक ढंगले हेर्नुपर्ने धारणा राख्दै विद्यालयको वातावरण प्रभावित हुने गरी गाउँपालिकाको कार्यालय सार्ने निर्णय उपयुक्त नभएको जनाएको छ।

 

पार्टीले गाउँपालिकाको कार्यालय सार्ने प्रक्रिया तत्काल रोक्न सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ। साथै, निर्णय फिर्ता नभए जनताको पक्षमा आवश्यक संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।

 

रास्वपाले कार्यालय सार्ने विषयमा सम्बन्धित सरोकारवाला, सेवाग्राही तथा स्थानीय समुदायको हितलाई समेत ध्यानमा राखी निर्णय गर्न आग्रह गरेको छ।

 

स्रोत : राष्ट्रिय स्वतन्त्र पार्टी, सम्सी गाउँपालिका कमिटीको प्रेस विज्ञप्ति

FB_IMG_1790430790896.jpg