सर्लाही प्रवासी सेवा समाज कतारको नयाँ अध्यक्षमा बाबुलाल महतो चयन
आशिक हुसैन शेख
दोहा, कतार ।
सर्लाही प्रवासी सेवा समाज कतारको १२औँ अधिवेशन तथा १८औँ स्थापना दिवस शुक्रबार सनैया प्लाजा मलस्थित जिम्बु थकाली रेस्टुरेन्टको सभा हलमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। सोही अवसरमा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो
।

कार्यक्रम संस्थाका कार्यवाहक महासचिव रमेश साहले कार्यक्रमका सभापति प्रकाश आले मगरसँग अनुमति लिएर औपचारिक रूपमा सुरु गरेका थिए। त्यसपछि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। राष्ट्रिय गानपछि देश तथा समाजका लागि योगदान पुर्याउँदै ज्यान गुमाएका ज्ञात–अज्ञात व्यक्तिहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो।
कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको अध्यक्षता सर्लाही प्रवासी सेवा समाज कतारका सभापति प्रकाश आले मगरले गरेका थिए।

अधिवेशनबाट बाबुलाल महतोको अध्यक्षतामा कार्यकाल २०२६–२०२८ का लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा बाबुराम थापा, द्वितीय उपाध्यक्षमा सन्तोष राना, महासचिवमा रमेश शाह, उपमहासचिवमा प्रमोद यादव, सचिवमा गिरीराज घिमिरे, कोषाध्यक्षमा किशन जर्गा मगर तथा सह–कोषाध्यक्षमा प्रमोद कुमार महरा चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा यादव मैनाली, रुपेश कुशवाहा, मेग राज बलाम्पाकी मगर, जलबहादुर खपाङ्गी मगर, श्याम राउत, मुकेश कुमार महतो र दीपेन्द्र महतो निर्वाचित भएका छन्।
निर्वाचनपछि निर्वाचन संयोजक जिया बाबु खानले नवनिर्वाचित अध्यक्ष बाबुलाल महतोसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। शपथग्रहणसँगै नयाँ कार्यसमितिले संस्थाको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि एवं एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत, संस्थागत तथा देशको प्रतिष्ठालाई ध्यानमा राख्दै जिम्मेवार र संयमित रूपमा प्रस्तुत हुन आग्रह गरे।
उनले सामाजिक सञ्जालमा कसैको नाम जोडेर कुनै विषय सार्वजनिक गर्दा प्रमाण र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिँदै डिजिटल माध्यममा भएका कुराकानी तथा गतिविधिहरू आवश्यक परेको अवस्थामा प्रमाणका रूपमा प्रयोग हुन सक्ने बताए।
पत्रकारिता तथा सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवारी र संयमता आवश्यक रहेको उल्लेख गर्दै पन्थीले संस्थाभित्रका विषयमा आपसी समन्वय, संवाद र छलफलमार्फत समस्याको समाधान खोज्नुपर्ने बताए।
पन्थीले कतारमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि सम्बन्धित जिल्ला तथा सामाजिक संस्थाहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले श्रमिकका विषयमा निरन्तर सक्रिय भएर काम गर्दै आएका प्रकाश मगरको भूमिकाको समेत प्रशंसा गरेका थिए।

उनले वर्तमान कार्यसमितिले संस्थालाई व्यवस्थित रूपमा अघि बढाउँदै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न लागेको भन्दै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद दिए। नयाँ कार्यसमितिले विगतका अनुभवलाई आत्मसात् गर्दै संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा पनि उनले व्यक्त गरे।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मोहम्मद कलाम हुसैन खान, विभिन्न सामाजिक तथा वैचारिक संस्थाका प्रतिनिधिहरू अफसर अलि खान, मनिष यादव, सागर नेपाललगायतको उपस्थिति थियो। त्यस्तै मधेश प्रदेश समन्वय परिषद् कतारका महासचिव ईसिलाल पण्डितसहित विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कतारमा रहेका सर्लाहीवासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अधिवेशनका क्रममा संस्थाका विगतका गतिविधि, उपलब्धि तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो। नवनिर्वाचित कार्यसमितिले कतारमा रहेका सर्लाहीवासी नेपालीबीच आपसी एकता, सहकार्य र सामाजिक सेवाको भावनालाई थप मजबुत बनाउँदै संस्थालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमका क्रममा केशव कार्की तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीलाई दोसल्ला, मायाको चिनो तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै अघिल्लो कार्यसमितिमा रहेर संस्थाका लागि योगदान पुर्याएका पदाधिकारी तथा सदस्यहरूलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यतिर विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान गरिएको थियो। सहभागीहरूले प्रवासमा रहे पनि नेपाली कला, संस्कृति, परम्परा र सामाजिक एकतालाई संरक्षण तथा निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

